नेपालमा फिल्मकर्मीभन्दा धेरै संघ-संस्थाहरु भैसकेका छन् । फिल्मको हरेक विधामा काम गर्नेहरुको आ-आफ्नै संस्था छन् । तर, अधिकांश संस्थाहरु महाधिवेशन अर्थात् चुनावको समयमा मात्र मुख देखाउँछन् । अरु बेला अस्तित्वमा नै हुँदैनन् । फिल्म क्षेत्रमा केही समस्या देखिए ‘तैँ चुप मैँ चुप’ झैँ हुन्छन् । चुनावको बेलामा भने ठूलो राजनीति हुन्छ । पार्टीगत हिसाबले जित-हार हुने गर्छ ।
अब फिल्मसम्बन्धी संघको राजनीतिमा अभिनेता आर्यन सिग्देलको पनि प्रवेश भएको छ । यसका लागि उनले चलचित्र संरक्षण मञ्च रोजेका छन् । मंगलबार काठमाडौंस्थित होटल हार्दिकमा भएको मञ्चको चौंथो चुनावी अधिवेशनबाट उनी प्रथम उपाध्यक्ष पदमा निर्विरोध चुनिएका छन् । आर्यनले पहिलो पटक फिल्मसम्बन्धी संस्थाको महत्त्वपूर्ण पदको जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन् ।
उनी चलचित्र कलाकार संघको आजीवन सदस्य समेत हुन् । तर, कलाकार संघमा उनले कुनै पदमा उठ्ने इच्छा देखिएका छैनन् । कलाकार संघको चुनावमा बढी राजनीतिक दाउपेच हुने भएकाले पनि हुनसक्छ । पहिलो प्रयासमै चलचित्र संरक्षण मञ्चको प्रथम उपाध्यक्ष बन्न पुगेका आर्यनको अर्जुनदृष्टि अब अध्यक्ष बन्नु हो या यो अनुभवका लागि मात्र हो ? धेरैलाई चासोको विषय बनेको छ ।
मञ्चको अधिवेशनमा उनले नेपाली फिल्मको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । उनका हितैषी मित्र तथा निर्देशक दिनेश राउतले पनि मञ्चमा पदाधिकारीको जिम्मेवारी पाएका छन् । उनी द्वितीय उपाध्यक्ष बनेका छन् । राउत पनि पहिलो पटक फिल्मसम्बन्धी संघको राजनीतिमा आएका हुन् । मञ्चको अध्यक्ष पदमा टिकाराम रखाल पुनः चयन भएका छन् ।