अभिनेत्री मिरुना मगरको जन्म हङकङमा भयो । बाल्यकाल नेपालको धरानमा वित्यो । अनि, पढाई बेलायतमा भयो । अहिले पनि उनको परिवार बेलायतमा बस्ने गर्छन् । बाल्यकालदेखि नै उनमा अभिनयप्रति रुचि थियो । आखिर एक समय रंगमञ्चमा ठूलो नाम कमाएकी शशी थापा सुब्बाकी छोरी न हुन् । आमाकै लिगेसी पछ्याउँदै मिरुनाले पनि रंगमञ्च हुँदै फिल्मसम्मको यात्रा तय गरिन् ।
फिल्म ‘लालपूर्जा’बाट डेब्यूको मौका पाएकी उनले यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हईं’ फिल्ममा काम गरिन् । यो विन्दूसम्म उनको करिअर सुखद बन्न सकेको थिएन । अभिनयको प्रशंसा हुने गरेको भए पनि फिल्मको व्यावसायिक सफलता टाढा बनिरहेको थियो । फिल्म ‘कबड्डी ४’ले उनलाई त्यो खुसी पनि दियो । फिल्म ‘जारी’को सफलताले त उनलाई करिअरको उत्कर्षमा नै पुर्याएको छ ।
‘कबड्डी ४’ले उनीमाथिको असफलताको ट्याग पखाल्यो अनि ‘जारी’ले स्टेरियोटाइपबाट मुक्त गरिदियो । नभए उनी प्रायः फिल्ममा हिरोकै वरिपरि घुम्ने पात्रको रुपमा मात्र प्रस्तुत हुँदै आएकी थिइन् । यद्यपि, उनलाई पहिला पनि आफू उतिधेरै स्टेरियोटाइप भएको भन्ने चाहिँ लाग्दैन रहेछ । करिअरको सुरुवाती समयमा गरेका हरेक फिल्म र भूमिकाप्रति मिरुना अझै पनि सन्तुष्ट र खुसी छिन् ।
यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को पत्रकार भेटघाटमा उनले भनिन्, ‘म पहिला फिल्म गर्न नेपाल आउने र फिल्म सकिएपछि यूके गैहाल्थे । अहिले चाहिँ नेपालमै बसेर धेरै कुरा बुझ्न खोजिरहेको छु । काम गर्दै जाँदा जुन-जुन क्यारेक्टर गरेँ, त्यसमा खुसी छु । म धेरै स्टेरियोटाइप भएँ भन्ने पनि लाग्दैन । अलि-अलि त भइन्छ नै । त्यो भोलिका दिनमा पनि हुनसक्ला ।’
आफूले फरक-फरक टिमसँग विभिन्न चरित्रमा काम गर्ने मौका पाएकोमा उनी खुसी व्यक्त गर्छिन् । अहिले आफूले काम देखाउने मौका पाउँदै गएको र मेकरहरुमा पनि आफूप्रति विश्वास बढ्न थालेको मिरुनाको बुझाई छ । ‘मेकरहरुमा यो क्यारेक्टर दिए मैले काम गर्न सक्छु भन्ने विश्वास बढेको होला । मलाई पनि अझै राम्रो गर्दै जान सक्छु भन्ने विश्वास बढ्दै गएको छ,’ उनी दृढ सुनिइन् ।
उनको मुख्य भूमिका रहेको ‘नाङ्गो गाउँ’ राजनीतिक विषयवस्तुमा आधारित छ । हुकाई, बढाई र पढाई बेलायतमा भएकाले उनले नेपालको राजनीतिलाई नजिकबाट बुझ्न सकेकी थिएनन् । तथापि, उनी राजनीतिको माहोलबारे पूर्ण रुपमा अनविज्ञ पनि थिइनन् र छैनन् । ‘नाङ्गो गाउँ’मा काम गरिसकेपछि भने मिरुनालाई नेपाली समाज र राजनीतिलाई थप नजिकबाट बुझ्न सघाउ मिलेको छ ।
उनी भन्छिन्, ‘मैले राजनीतिलाई पूर्ण रुपमा त बुझेको छैन । बुझ्ने प्रयास चाहिँ गरेको हुन्छु । यद्यपि, राजनीतिक माहोलबारे धेरथोर जानकार छु । ‘नाङ्गो गाउँ’को कथाले पनि मलाई केही हदसम्म राजनीतिबारे बुझ्न सघायो ।’ फिल्मले उठाएको कथावस्तुले नेपाली समाजको वास्तविक चरित्र चित्रण गर्ने उनको विश्वास छ । यो फिल्ममा मिरुनाको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ ।