राजनीतिक विषयवस्तुमा निर्माण भएको दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा प्रशंसा मिलेको छ । बुधबार बेलुका सितापाइलास्थित सीके सिनेमाज् हलमा भएको रेड कार्पेट प्रिमियरमा फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशन, गीतसंगीत र छायांकन पक्षको प्रशंसा भयो । दयाहाङ राई र मिरुना मगरको जोडीको तारिफमा पनि अतिथिहरुले शब्द खर्चिए ।
गायक राजेशपायल राईले समाजमा घटिरहेको घटनालाई चुस्त दुरुस्त फिल्ममा उतारिएको भन्दै प्रशंसा गरे । उनले दयाहाङलाई ‘सुपरस्टार’ भन्दै उनले निर्वाह गरेको भूमिकाले बालेन शाह, हर्क साम्पाङ राई र गोपी हमालको झल्को मिल्ने समेत बताएका छन् । ‘फिल्म अत्यन्त सुन्दर छ, मीठो छ । मैले सोचेभन्दा धेरै राम्रो फिल्म बनेको पाएँ । क्लाइमेक्स गज्जब छ,’ उनले मिडियासँग भने ।
त्यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौड्याल, अभिनेत्री लुनिभा तुलाधरले फिल्मको विषयवस्तु सशक्त रहेको धारणा राखे । फिल्मले चुनावमा भोट दिनुभन्दा अगाडि जनतालाई सयपटक सोच्न सचेत गराउने उनीहरुको विश्वास छ । अभिनेता कुन्साङ बम्जनले फिल्मलाई शतप्रतिशत रेटिङ दिँदै एउटा राम्रो विषयवस्तुमा उम्दा फिल्म बनेको प्रतिक्रिया दिए ।
प्रिमियरमा मिलेको प्रतिक्रियाले दयाहाङ राई र मिरुना मगर उत्साहित देखिएका थिए । फिल्मको प्रचारबाट टाढा बसेकी साम्राज्ञी आरएल शाह प्रिमियरमा भने उपस्थित भएकी थिइन् । हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो फिल्ममा जय श्रेष्ठको लगानी छ भने कार्यकारी निर्मातामा रामहरि श्रेष्ठ छन् । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा आलोक शुक्लाको छायांकन छ ।