मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दीपक-दीपाको हल सञ्चालनमा, निर्माता र प्रदर्शकले बराबर सेयर पाउने

फिल्मीखबर, काठमाडौं, 2023/09/15

फिल्म निर्माणमा सर्वाधिक सफल मानिएका दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले १० करोडको लागतमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । काठमाडौंको नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज हलको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

 

deepak raj giri and deepashree niraula


दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ३८७ (एउटामा १७७ र अर्कोमा २१०) सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीअन्तर्गत सञ्चालनमा आएको हलको व्यवस्थापन देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले हेर्नेछ । योसँगै आईएनआईको हल संख्या तीनवटा पुगेको छ । नयाँ बसपार्कको ल्होत्से मल र बुटवलको मिलनचोकमा गरी यसको दुईवटा हल सञ्चालनमा छन् ।

दीपक-दीपाले हलको निर्माण ५ वर्षअघिदेखि सुरु गरेका थिए । कोरोना महामारी र आर्थिक मन्दीका कारण हल निर्माणमा ढिलाई भएको थियो । आफ्नो फिल्म ‘छक्का पञ्जा ४’बाट हललाई सञ्चालनमा ल्याउने योजना दीपक-दीपाको थियो । तर, त्यो सम्भव भएन । शुक्रबारदेखि यो हलमा ‘एक भागवत र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘नन् २’ गरी चारवटा फिल्मको प्रदर्शन थालिएको छ ।

हलको उद्घाटन कार्यक्रममा दीपकराजले आफ्नो हलबाट निर्माता र प्रदर्शकले बराबर सेयर पाउने घोषणा गरे । ‘हामीले वर्षौंदेखि भन्दै आएको कुरा के हो भने निर्माता र प्रदर्शकले फिल्मबाट प्राप्त गर्ने रकम बराबर हुनुपर्छ । शेयर बाँडफाँडमा हामी निर्माताको असन्तुष्टि रहँदै आएको छ । यो हलमा भने निर्माता र प्रदर्शकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने घोषणा गर्दछु,’ उनले भने ।

 

deepak raj giri and deepashree niraula


उनले आफ्नो हलमा विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने पनि बताए । ‘चलेका नेपाली फिल्म चाहिँ पीडित हुनु नपरोस् । फिल्म नै चलेको छैन भने त माया-प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली फिल्मलाई पीडित हुने अवस्था आउन दिने छैनौं,’ उनले प्रतिवद्धता व्यक्त गरे । हलवाला र निर्माता नङ र मासु रहेको बताउँदै गिरीले दुवैले एकअर्कालाई बचाउनुपर्ने धारणा राखे ।