‘अग्निदहन’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘चित्रा’को छायांकन सुरु गरिएको छ । शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै पोखराबाट फिल्मको छायांकन थालिएको हो । छायांकन सुरु भएसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । माघे संक्रान्तिलाई लक्षित गरेर आगामी पुस २७ गते फिल्म सार्वजनिक प्रदर्शनमा आउने निर्देशक लामिछानेले जानकारी दिएका छन् ।
सन्तोष अधिकारी फिल्म्स् तथा अस्याप इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, प्रमोद अग्रहरी, सन्तोष अधिकारी, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, गीता थापा, दिपेश गजुरेल, उज्वल ढकाल, श्यामसुन्दर कार्कीलगायतको अभिनय रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पोखरा र घाचोकमा गरिनेछ ।
एक सेवानिवृत्ति बाबु र छोरीको कथा प्रस्तुत गर्ने फिल्मको निर्मातामा आशिष थापा मगर र कार्यकारी निर्मातामा सन्तोष अधिकारी छन् । अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, प्रवीण सिंहको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, राजनराज सिवाकोटीको संगीत तथा महेश पौडेलको छायांकन रहने यो फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भैसकेको छ ।