मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’को सुखद सुरुवात

फिल्मीखबर, काठमाडौं, 2023/09/15

Bipin Karki and dayahang rai

 

बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’को चुनौतीबीच शुक्रबारबाट प्रदर्शनमा उत्रिएका दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’ले घरेलू बक्स अफिसमा सुखद सुरुवात गरेका छन् । बिहानी शो अपेक्षाकृत हुन नसकेता पनि दिउँसोबाट दुवै फिल्मले लय समातेका थिए । काठमाडौं र मोफसलका केही हलमा दुवै फिल्ममा दर्शकको उपस्थिति राम्रो थियो ।

अकुपेन्सीको आधारमा ‘एक भागवत र एक गीता’भन्दा ‘नाङ्गो गाउँ’ केही अगाडि छ । फिल्मले शुक्रबार दिउँसोदेखि साँझसम्म ६० प्रतिशतमाथि अकुपेन्सी कायम गर्न सफल रह्यो भने ‘एक भागवत र एक गीता’को ३५-४० प्रतिशत हाराहारी अकुपेन्सी रहेको थियो । यी दुवै फिल्मका लागि यो सुखद संकेत मान्न सकिन्छ । अब शनिबार (भोलि)को व्यापारले को कति पानीमा भन्ने छर्लङ्ग हुनेछ ।

शुक्रबारको अकुपेन्सीको आधारमा ‘नाङ्गो गाउँ’ले मल्टीप्लेक्सहरुमा केही शो बढाएको छ । र, यसको फाइदा फिल्मले शनिबारको विदामा उठाउन सक्ने देखिन्छ । ‘कबड्डी ४’ र ‘जारी’को ब्लकबस्टर जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेकाले फिल्मप्रति दर्शकको आकर्षण देखिएको हुनसक्ने आँकलन गरिएको छ । आइतबारबाट भने फिल्म आफ्नै बलबुतामा चल्नुपर्नेछ ।

दुईवटै फिल्म कथावस्तुको हिसाबले फरक छन् । ‘नाङ्गो गाउँ’ले राजनीतिक विषयलाई उठाएको छ भने ‘एक भागवत र एक गीता’ लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ । जसले गर्दा दुवै फिल्मका लक्षित वर्ग पनि फरक छन् । बलियो ‘वर्ड अफ माउथ’ मिलेको अवस्थामा तीज र संविधान दिवसको सार्वजनिक विदाको फाइदा समेत यी दुईटै फिल्मले राम्रो उठाउन सक्नेछन् ।