‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ । शनिबार बिहान नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।
फिल्मको छायांकन आगामी शुक्रबार (असोज ५ गते)बाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुने जानकारी प्राप्त छ । २०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर फिल्म निर्माण हुन लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो । निर्माण सुरु नहुँदै फिल्मको प्रदर्शन मिति तय भैसकेको छ । आगामी वर्ष (२०८१)को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ ।
दयाहाङ र आँचलबीच पहिलो पटक फिल्ममा सहकार्य हुन लागेको हो । आँचलले दयाहाङसँग काम गर्न पाउनु आफ्नो अहोभाग्य भनेकी छन् । उनले भनेकी छन्, ‘उहाँसँग धेरै कलाकारहरु काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ । त्यो सुनौलो अवसर मलाई प्राप्त भयो । उहाँसँग काम गर्नका लागि एकदमै उत्साहित छु ।’ उनले दयाहाङसँग एक म्यूजिक भिडियोमा भने काम गरिसकेकी छन् ।