मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ले राम्रो व्यापार गरेपछि दयाहाङ भन्छन्- ‘रेकर्ड ब्रेक’को लोभ छैन’

फिल्मीखबर, काठमाडौं, 2023/09/16

हरितालिका तीजको छेको पारेर शुक्रबारदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘नाङ्गो गाउँ’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । पहिलो दिन ६० प्रतिशत आसपास अकुपेन्सी रहेको फिल्मले दोस्रो दिन अर्थात् शनिबारे विदामा ८५ प्रतिशतसम्म अकुपेन्सी कायम गर्न सफल भयो । शनिबार काठमाडौंसँगै मोफसलका प्रमुख शहरका हलहरुमा फिल्म हेर्ने दर्शकहरुको चाप उच्च रहेको थियो ।

फिल्मको इनिसियल व्यापार राम्रो हुनुमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्रेज प्रमुख मानिएको छ । ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्ड ब्रेक’ सफलतापछि यो जोडीको क्रेज जबर्जस्त छ । र, यसको फाइदा ‘नाङ्गो गाउँ’ले उठाएको हो । दुई दिनको अकुपेन्सीलाई मध्यनजर गर्दै आइतबारका लागि केही मल्टीप्लेक्सहरुले शो संख्यामा समेत वृद्धि गरेका छन् । यो सुखद पक्ष हो ।

आइतबारदेखिको व्यापारले ‘नाङ्गो गाउँ’को आयू निर्धारण गर्नेछ । शुक्रबार र शनिबारको क्रेज यथावत् रहेको अवस्थामा असोज १ गते परेको तीज र ३ गते संविधान दिवसको विदाको फाइदा पनि फिल्मले राम्रै उठाउन सक्नेछ । त्यसमाथि अर्को हप्ता कुनै फिल्म छैन । मात्र फिल्मले आफ्नो गतिलाई यथावत् राख्न सक्नुपर्नेछ । फिल्मको इनिसियल व्यापारले भने फिल्म क्षेत्रमै खुसी छरेको छ ।

 

dayahang rai


फिल्मले दर्शकको राम्रो साथ पाएपछि दयाहाङ खुसी देखिएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले आफूलाई बक्स अफिसको दबाब नरहने बताए । बरु निर्माताको लगानी सुरक्षित भए ढुक्क लाग्ने उनको भनाई छ । उनी भन्छन्, ‘मेरो निर्माताले निरन्तर काम गर्ने वातावरण बनोस् । ‘नाङ्गो गाउँ’को लगानी सुरक्षित भैसक्यो भन्नुभएको छ । मेरो खुसी त्यही हो ।’

दयाहाङका अघिल्ला दुई फिल्म ‘कबड्डी ४’ र ‘जारी’ले बक्स अफिसमा ठूलो रेकर्ड बनाएका छन् । के उनलाई ती फिल्मको रेकर्ड आफ्नै फिल्मले तोडोस् भन्ने लोभ छ ? पत्रकारको प्रश्नमा उनले भने- ‘रेकर्ड ब्रेक’को लोभ त छैन । बरु कसरी राम्रो काम गर्ने भन्ने चाहिँ लोभ हुन्छ । व्यावसायिक हिसाबमा लाग्न थालियो भने त एउटा कलाकारलाई कठिन हुन्छ । त्यसरी सोचिनु हुन्न भन्ने लाग्छ ।’

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झाको पनि अभिनय छ । राजनीतिक विषयवस्तुमा आधारित रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । निर्माता कडरियाले फिल्मलाई मिलेको दर्शकको साथले उत्साहित बनाएको बताए । नेपाल तथा विदेशबाट लगानी सुरक्षित भैसकेको उनको दाबी छ ।