सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘एउटा साथी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्मा श्रेष्ठले यसपछि सन् २०१५ मा ‘लभ सब’ र सन् २०१८ मा ‘बाबु कान्छा’मा अभिनय गरेकी थिइन् । तर, यी तीन फिल्म व्यावसायिक रुपमा सफल हुन सकेनन् । जसले गर्दा उनको करिअर पनि कमजोर बन्न पुग्यो । अब उनले ५ वर्षपछि फिल्म ‘मायावी’बाट अभिनयमा पुनरागमन गर्ने भएकी छन् ।
शनिबार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्ममा करिश्मा अनुबन्ध भएको जानकारी गराएको हो । फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समीम खानको पनि अभिनय रहनेछ । करिश्माको जोडी कोसँग बाँधिनेछ, त्यसबारेमा भने निर्माण टिमले केही खुलाएको छैन । कमब्याकलाई लिएर उत्साहित रहेकी उनी कथावस्तु र चरित्रले फिल्ममा काम गर्न लोभ्याएको बताउँछिन् ।
दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत रचना र राजुविक्रम थापाको डिओपी रहनेछ । निर्देशक भट्टराई र राज कटुवालको संयुक्त निर्माण रहने उक्त फिल्मको छायांकन असोज २ गतेबाट तालनगरी पोखरामा सुरु हुँदैछ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको हो ।