नेपालमा पहिलो पटक आइफोनबाट फिल्म खिचिने भएको छ । नेपालका फिल्म कलेजहरुबाट ब्याचलर पास गरेका विद्यार्थीहरुले आइफोन १४ प्रो म्याक्सबाट फिल्म ‘अ प्लेस अन्डर द सन’को छायांकन गर्न लागेका हुन् । जेसन लोप्चनको निर्देशनमा बन्न लागेको फिल्मलाई प्रविन लिम्बूले छायांकन गर्नेछन् । जेसनले आइफोनबाट फिल्म खिच्न सहज नभए पनि नयाँ प्रयोग गर्न लागेको बताए ।
वान स्क्वाड फिल्म्सको प्रस्तुति रहने फिल्ममा मीन घलान, मीरा गुरुङ, अम्सु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहनेछ । चितवनमा ८० प्रतिशत र काठमाडौंमा २० प्रतिशत छायांकन हुने फिल्म क्राइम ड्रामामा बन्न लागेको हो । हलिउडका प्रख्यात निर्देशकद्वय क्वेन्टिन तारान्टिनो र स्टिभन सोडरबर्गका फिल्मबाट प्रभावित भएर फिल्म बन्ने जनाइएको छ ।
शेफर्ड कलेजबाट मिडिया एण्ड टीभीमा मास्टर डिग्री गरेका निर्देशक लोप्चनको यो पहिलो फिचर फिल्म हो । यसअघि ग्यालेक्सी टीभीबाट प्रशारण भएको ‘क्राइम पेट्रोल’को निर्देशन गरेका उनले काठमाडौंका मेयर बालेन शाहको एक गीतको म्यूजिक भिडियो समेत निर्देशन गरेका छन् । ‘अ प्लेस अन्डर द सन’लाई अर्को वर्ष अर्थात् २०२४ मा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।