पछिल्ला वर्षमा नेपाली फिल्मको प्रचार एउटै शैलीको देखिँदै आएको छ । कि कलेज डुलेर विद्यार्थी फकाउने कि त मिडिया धाएर अन्तर्वार्ता दिने । विभिन्न प्रतियोगिताको घोषणा पनि बेला बखतमा हुने गर्छ । यीबाहेक प्रचारमा नयाँ प्रयोग भने हुन सकेको छैन । फिल्मप्रति दर्शकलाई आकर्षित गर्न प्रचार शैलीको निकै ठूलो भूमिका रहन्छ । तर, नेपाली फिल्म प्रचारमै चुकिरहेको अवस्था छ ।
असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले भने प्रचारमा नयाँ प्रयोग गरेको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा पहिलो पटक नाटकमार्फत् फिल्मको प्रचार गर्न थालिएको छ । यो फिल्मले वैदेशिक रोजगारी र विदेशमा पढ्न जानेको कथालाई उठान गरेको छ । यही विषयमा नाटक तयार पारेर फिल्मको टिमले काठमाडौंका कलेजहरुमा प्रस्तुति दिन थालेको छ ।
फिल्ममा अभिनय गरेका कलाकारहरुलाई भने नाटकमा राखिएको छैन । अरु नै कलाकारहरुलाई लिएर नाटक तयार गरिएको छ । नाटकसँगै फिल्मको गीतमा नृत्य प्रस्तुति समेत राखिएको छ । काठमाडौंका केही कलेज तथा सार्वजनिक स्थानपछि मोफसलका विभिन्न शहरहरुमा नाटक देखाइने जानकारी प्राप्त छ । यसले फिल्मको प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण समुहको छ ।
लोकगायक तथा संगीतकार नारायण रायमाझी निर्देशित फिल्ममा नीर शाह, रमा थपलिया, प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ्ग, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, दीलिप रायमाझी, सुशील पोखरेल लगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश बंशल र नारायण रायमाझीले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।