हरितालिका तीजलाई लक्षित गरेर वर्षेनि दर्जनौं गीत सार्वजनिक हुने गरेका छन् । त्यसमध्ये केही सीमित गीत मात्र चर्चामा रहन्छन् । तर, तीज सकिएसँगै त्यसको लोकप्रियता पनि एकाएक सकिन्छ । एउटा तीज गीत भने सर्वकालिन लोकप्रिय छ । त्यो हो, फिल्म ‘कन्यादान’को ‘तीजको रहर आयो बरि लै’ । यो गीत बिना तीजको कल्पना समेत गर्न सकिँदैन । तीजको पर्याय नै बनिसकेको छ ।
तीन दशकदेखि यसलाई छायाँमा पार्ने अरु तीज गीत नै बनेका छैनन् । तीजको रौनक लिएर आउने यस गीतमा कम्मर नभाँचेसम्म महिलाहरुलाई धितै मर्दैन । तीजको महत्व बोकेको यो गीतलाई महिलाहरुको दुःख विर्साउने गीत समेत भन्ने गरिन्छ । गीतमार्फत् श्रीमानको दीर्घायूको कामना गर्दै वर्षौंपछि भेट भएका दिदी-बहिनीहरुलाई सबै दुःख-पीडा भुलाएर खुसीपूर्वक नाच्न भनिएको छ ।
प्रकाश थापाद्वारा निर्देशित ‘कन्यादान’ सन् १९९१ (२०४८ साल)मा प्रदर्शन भएको थियो । गीतमा चेतन कार्कीको शब्द रचना, दिपा झा तथा पुर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको संगीत रहेको छ भने गौरी मल्ल, बसुन्धरा भुषाल र शुभद्रा अधिकारीलगायतले नृत्य गरेका छन् । बसन्त श्रेष्ठ गीतका कोरियोग्राफर हुन् । सन् २०१३ मा उक्त गीतलाई रि-एरेञ्ज गरेर समेत सार्वजनिक गरिएको थियो ।
‘कन्यादान’पछि पनि कयैन् नेपाली फिल्ममा कथावाचनको रुपमा तीज गीतको प्रयोग नभएका होइनन् । केही राम्रो चर्चामा पनि रहे । तर, ‘तीजको रहर आयो बरि लै’ जति कालजयी अरु फिल्मका तीज गीत बन्न सकेनन् । न भविष्यमै यो सम्भव हुने फिल्मकर्मीहरु बताउँछन् । यस फिल्मका निर्देशक प्रकाश थापा, अभिनेत्री शुभद्रा अधिकारी तथा गीतकार चेतन कार्कीको निधन भइसकेको छ ।
‘मुना मदन’ (नाच नाच संगिनी), ‘आफ्नो मान्छे’ (तीज र तिहार आउँदामा), ‘अन्जानमै माया बस्ला’ (तीजको यो कस्तो रहर), ‘राधा’ (पाउमा पाउजु), ‘अन्दाज’ (आयो बरै तीजको रम-झम), ‘रोमियो एण्ड मुना’ (डानसमा म एक नम्बर), ‘रंग बैजनी’ (छड्के पोते) लगायतका फिल्ममा पनि तीज गीत समाविष्ट छन् । पछिल्लो समय भने नेपाली फिल्ममा तीज गीत कमै समावेश हुने गरेका छन् ।