मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कार अवार्डमा नेपालबाट ‘हल्कारा’ले प्रतिस्पर्धा गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/09/18

संसारकै प्रतिष्ठित ओस्कार अवार्डको ९६औँ संस्करणमा नेपालबाट फिल्म ‘हल्कारा’ले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले विक्रम सापकोटाद्वारा निर्देशित फिल्मलाई ओस्कार अवार्डमा प्रतिस्पर्धी बन्नका लागि सिफारिस गरेको हो । यसका लागि ‘हल्कारा’सहित ‘डाकिनी’, ‘बगान’, ‘नीरफूल’ र ‘बुलाकी’ गरी पाँच नेपाली फिल्मले आवेदन दिएका थिए ।

 

Halkara - OSCAR 1


समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई मध्यनजर गरेर ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा राजु केसी राजु खत्री क्षेत्री को अध्यक्षतामा रहेको समितिको सदस्यमा मञ्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई रहेका छन् ।

‘हल्कारा’ गत बैशाख २९ गते नेपालमा प्रदर्शन भएको थियो । महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्कीलगायतको पनि अभिनय छ । फिल्मले अमेरिकाको ‘ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफी गरी तीन अवार्ड जितेको थियो ।

 

Oscar


कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको ‘हल्कारा’मा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ । फिल्मका कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् । निर्देशक सापकोटा स्वयंको लेखन तथा सम्पादन रहेको फिल्ममा विप्लव प्रतीक र आकाश बरालको सह-लेखन छ । फिल्मले नेपालमा अब्बल समीक्षा पाएको थियो ।