अभिनेता विमलेश अधिकारीले अब फिल्मको निर्देशन गर्ने भएका छन् । करिब ७ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले फिल्म ‘ह्याप्पी डिभोर्स’बाट निर्देशकको परिचय थप्न थालेका हुन् । उक्त फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिँदैछ । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा लेखन रहेको छ । साथै, मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछन् ।
सेभेन कलर्सको निर्माण रहने यस फिल्ममा विमलेशका दुई घनिष्ट साथी अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारको बारेमा फिल्मको घोषणा कार्यक्रममा जानकारी गराउने तयारीमा विमलेश छन् । शीर्षकले नै फिल्म सम्बन्ध विक्षेदको कथामा निर्माण हुन लागेको बुझाउँछ । फिल्मको दशैंपछि छायांकन थाल्ने तयारी रहेको जनाइएको छ ।
विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘ह्याप्पी डिभोर्स’बाट अभिनयमा समेत कमब्याक गर्न लागेका हुन् । उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् । कुनै बेला म्यूजिक भिडियोमा उनी निकै रुचाइएका थिए ।