भिलेनको परम्परागत परिभाषा बदल्ने अभिनेताको रुपमा चिनिन्छन्, प्रशान्त ताम्राकार । आकर्षक रुपरंग, सुगठित शरीर र अग्लो कद भएपछि हिरोमै स्थापित हुने इच्छा धेरैको हुन्छ । तर, प्रशान्तले यो गुण हुँदा-हुँदै पनि भिलेनमा आफूलाई स्थापित गरे । यसैले उनलाई ‘ह्यान्डसम भिलेन’ समेत भन्ने गरिएको छ । फिल्म ‘ऐश्वर्या’मा उनले निर्वाह गरेको भूमिका सम्झनलायक मानिन्छ ।
‘ऐश्वर्या’ फेम्ड निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘मायावी’मा पनि प्रशान्तले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । पोखरामा मंगलबारबाट छायांकन सुरु हुन लागेको फिल्ममा उनी भिलेनकै भूमिकामा देखिन सक्ने आँकलन गरिएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । दीवाकरसँग प्रशान्तको फिल्म ‘क्याप्टेन’मा पनि सहकार्य भएको थियो ।
प्रेमकथामा बन्न लागेको फिल्ममा पल शाह, दीपिका प्रसाईं, समीम खान, सुशील सिटौला, करिश्मा श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । अभिनेता राज कटुवाल निर्माता रहेको फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निार्मण हुन लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।