‘बाहुबली’ निर्देशक एसएस राजामौलीले ‘आरआरआर’को सफलतापछि नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । उनले ‘मेड इन इन्डिया’ शीर्षकमा फिल्म बनाउन लागेका हुन् । भारतीय फिल्मको सुरुवात र सुरुवाती समयको कथामाथि उनले फिल्म बनाउन लागेको जनाइएको छ । उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि ठूलो स्केलमा बन्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
‘राष्ट्रिय अवार्ड’ विजेता नितिन कक्कडको निर्देशन रहने फिल्मलाई राजामौलीले निर्माण गर्नेछन् । उनले इन्स्टाग्राममार्फत् फिल्मको घोषणा गर्दै आफू कथा सुनेर भावुक भएको बताएका छन् । उनी लेख्छन्, ‘जब मैले फिल्मको न्यारेसन सुनेँ, तब इमोसनल भएको थिएँ । बायोपिक बनाउनु आफैंमा गाह्रो छ । त्यसमाथि फादर अफ इन्डियन सिनेमामाथि बायोपिक बनाउनु त झनै चुनौतीपूर्ण छ ।’
दादासाहेब फाल्केलाई ‘फादर अफ इन्डियन सिनेमा’ अर्थात् भारतीय सिनेमाका पिता भनिन्छ । सन् १९१३ मा उनले पहिलो फिचर फिल्म ‘राजा हरिश्चन्द्र’ बनाएका थिए । तर, भारतीय फिल्मको सुरुवात गर्न उनले ठूलो संघर्ष गर्नुपरेको थियो । फिल्ममा महिलाले काम गर्न थाल्नुको श्रेय समेत उनलाई दिइने गरिन्छ । उनको नाममा फिल्म अवार्डदेखि फेस्टिभलसम्म आयोजना हुने गरेका छन् ।
नितिनले ‘फिल्मिस्तान’, ‘मितरो’, ‘राम सिंह चार्ली’, ‘नोटबुक’ र ‘जवानी जानेमन’ फिल्म निर्देशन गरिसकेका छन् । ‘मेड इन इन्डिया’ ६ भाषामा बन्नेछ । हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालम र मराठी भाषामा रिलिज हुन लागेको फिल्ममा कलाकारको बारेमा भने जानकारी गराइएको छैन । एसएस राजामौली भने अभिनेता महेश बाबूलाई लिएर एडभेन्चर फिल्मको निर्देशन गर्ने तयारीमा छन् ।