विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले अघिल्लो महिना फिल्म ‘राजागन्ज’को छायांकन भ्याएकी थिइन् । अब उनी अर्को फिल्ममा जोडिएकी छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा उनी विशेष भूमिकामा अनुबन्ध भएकी छन् । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ ।
रोचक कुरा के छ भने निकिताले ‘मिस नेपाल’को उपाधि जित्दा सोही प्लेटफर्मबाट ‘मिस नेपाल इन्टरनेशनल’ घोषित भएकी नीति शाहको पनि फिल्ममा अभिनय रहनेछ । साथै, फिल्ममा अनमोल केसी, शिल्पा मास्के, प्रमोद अग्रहरी, कामेश्वर चौरासियाको पनि प्रमुख भूमिका रहनेछ । यही असोज १२ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्ममा अनमोल दोहोरो भूमिकामा प्रस्तुत हुनेछन् ।
सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको हो । सुप्रिया कटुवाल निर्माता रहेको फिल्मलाई ‘लार्ज स्केल’मा निर्माण गर्ने तयारी गरिएको छ । पहिला ‘रावायण’ शीर्षकमा पूजा शर्माले फिल्म बनाउन लागेकी थिइन् । तर, विभिन्न कारणले उनी फिल्म निर्माणबाट पछाडि हटेपछि निर्देशक थापाले सबै स्वामित्व लिएका हुन् ।