अभिनेता विमलेश अधिकारीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्याप्पी डिभोर्स’को मंगलबार काठमाडौंका एक कार्यक्रमका बीच प्रिभ्यू भिडियो (डिभोर्स गीत) सार्वजनिक गर्दै निर्माण घोषणा गरियो । भिडियोमा विमलेशका साथै अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा प्रस्तुत छन् । फिल्मको कथा पनि उनीहरुमा नै केन्द्रित रहनेछ ।
अंग्रेजी नयाँ वर्ष २०२४ बाट छायांकन थालेर सोही वर्ष फिल्मलाई हलमा प्रदर्शन गरिने जनाइएको छ । फिल्ममा नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र पुकारमणी राईको लेखन रहनेछ । रोशन घिमिरे निर्माता रहेको फिल्मको कन्सेप्ट तथा कथा विशलेश स्वयंको हो । २०१८ तिर नयाँ चिजमा काम गर्ने योजना बनाउँदा ‘ह्याप्पी डिभोर्स’को कन्सेप्ट आएको विमलेश बताउँछन् ।
डिभोर्सपछि पनि खुसी भएर जीवन अगाडि बढाउन सकिन्छ भन्ने सन्देश फिल्मले दिने उनको भनाई छ । ‘डिभोर्स या ब्रेकअपपछि लाइफ त्यतिमै सकिँदैन । त्योभन्दा अगाडि पनि लाइफ छ । आफूले सोचेका सपना साकार गर्न सकिन्छ । खुसी हुन सक्छौं । यिनै कुरालाई फिल्ममा देखाउँछौं । डिभोर्सपछि पनि जीवनलाई राम्ररी अघि बढाउन सकिन्छ भन्ने सन्देश फिल्मले दिनेछ,’ उनले भने ।
निर्देशन गर्नु चुनौतीपूर्ण भएपनि योजनाबद्ध रुपमा काम गरिरहेकाले कठिन नहुने उनको विश्वास छ । उनी भन्छन्, ‘फिल्म निर्देशन चुनौतीपूर्ण काम हो भन्ने थाहा छ । प्रिभ्यू भिडियोसम्म चाहिँ कठिनाई भोग्नुपरेन । मैले योजनाबद्ध रुपमा काम गरिरहेकाले निर्देशन गर्न त्यति साह्रो कठिनाई नहोला भन्ने लागेको छ ।’ केकी र रीमाले फिल्मको कथा र चरित्र मनपरेपछि काम गर्न लोभिएको बताए ।