नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम’ बोलको परदेशीको पीडा र बाध्यता बोल्ने गीतमा सतिश चापागाईँको शब्द रचना, बिबि अनुरागीको संगीत तथा प्रशान्त तामाङको स्वर रहेको छ । प्रशान्त फिल्मका मुख्य अभिनेता समेत हुन् । उक्त गीतमा फिल्मको कथासार बुझाउने केही मनछुने संवाद समेत समावेश छन् ।
दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा नीर शाह, प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा गीतकार तथा संगीतकार रमेश विजीको लेखन छ ।
फिल्मले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीहरुको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन भएको यसको अघिल्लो श्रृंखला वैदेशिक रोजगारीको कथामा आधारित थियो । र, त्यसबेला सुपरहिट भएको थियो । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।