विपिन कार्की अभिनयमा सशक्त कलाकार हुन् भन्नेमा दुईमत छैन । उनले हरेक फिल्मबाट आफूलाई प्रमाणित गर्दै आएका छन् । अभिनयमा मात्र होइन, चरित्रमा विविधता पस्किने मामलामा पनि उनी समकालीनभन्दा अगाडि नै छन् । आफ्नो उमेरभन्दा दोब्बर बढीको चरित्र समेत निर्वाह गरिसकेका उनी यतिबेला प्रदर्शनरत फिल्म ‘एक भागवत र एक गीता’मा अर्को पृथक भूमिकामा छन् ।
यो फिल्ममा विपिनले तेस्रो लिङ्गीको भूमिकामा अभिनय गरेका छन् । उनले पहिलोपटक आफूलाई यसखालको भूमिकामा ढालेका हुन् । जसले गर्दा उनको चरित्र चित्रण र अभिनयलाई लिएर दर्शकमा चासो र कौतुहलता थियो । उनको नयाँ अवतार हेर्नकै लागि हलमा दर्शक पुगेका छन् । तर, आवरणमा उनी जति सशक्त देखिएका छन् के त्यस्तै सशक्त पर्दामा पनि छन् ? धेरैमा चासो छ ।
जन्मथलो पहाडबाट मिथिला क्षेत्र झरेको चरित्र हो उनको । फरक स्वभाव भएका कारण परिवार र समाजले तिरस्कार र अपहेलना गरेपछि उनले नयाँ जीवनको सुरुवात गर्छन् । घरमा नयाँ सदस्यको आगमन हुँदा होस् या नयाँ सामान जोड्दा उनीबाट आर्शिवाद लिनेको भीड लाग्छ । मिथिला क्षेत्रमा उनलाई भगवानको स्वरुप नै मानिन्छ । उनले आफूजस्तै धेरैलाई आश्रय समेत दिएका छन् ।
फिल्ममा उनको लुक्स र गेटअपमा निकै ध्यान दिइएको छ । त्यसअनुरुप उनले प्रस्तुत गर्ने अदा र हाउभाउले कहीँ पनि वास्तविक विपिन लाग्दैनन् । उनी कमलामाईको चरित्रमा जीवन्त छन् । उनको चरित्र फिल्मको मेरुदण्ड हो । फिल्ममा ४० प्रतिशत मैथिली भाषाको प्रयोग छ । अरु कलाकारले रटेर मैथिली संवाद बोलेको प्रष्टै भान हुन्छ । तर, विपिनले मैथिली संवाद राम्ररी टिपेका छन् ।
तर, उनको चरित्र बलियोसँग स्थापित छैन । मधेश आएपछि उनले गरेका संघर्षलाई देखाइएकै छैन, जुन पक्ष फिल्मभर खड्किन्छ । न त उनको चरित्रको उद्देश्य बुझाउने प्रयास गरिएको छ । बरु अभिनेत्री सुहाना थापालाई अनावश्यक रुपमा ठाउँ दिन निर्देशक झरना थापाले बढी समय खर्चिएकी छन् । तर, सुहानाकै चरित्र पनि राम्रोसँग स्थापित छैन । न उनको अभिनय स्वभाविक लाग्छ ।
लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित भएर फिल्म निर्माण भएको छ । तर, फिल्मले यो समुदायको कथालाई सतहीमा मात्रै उठाएको छ । यद्यपि, केही दृश्य र संवादबाट यो समुदायप्रति गरिने व्यवहार र सोचलाई देखाइएको छ । सन्देश दिने प्रयत्न पनि धेरथोर गरिएको छ । तर, मध्यान्तरपछि धीरज मगर र सुहाना थापाको प्रेमकथा भन्ने धुनमा फिल्म मूल मुद्धाबाटै भड्किन्छ ।
एउटा चुनौतीपूर्ण र संवेदनशील विषय उठाउने प्रयास गर्नु नै निर्देशक झरना थापाको ठूलो आँट हो । यसप्रकारको विषयमा फिल्म बनाउने हिम्मत कमै मेकरमा छ । ‘ए मेरो हजुर’ जस्तो पैसाको बोट छाडेर नयाँ नाममा पृथक विषय उठाउने हिम्मत गरेकी झरना उच्च प्रशंसाको हकदार छिन् । र, चुनौतीपूर्ण चरित्रमा आफूलाई ढाल्न विपिन कार्कीले गरेको मिहिनेत र प्रयास प्रशंसालायक छ ।