अभिनेता तथा निर्माता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका श्रेणी खतिवडासँग बुधबार काठमाडौंको पाँचतारे होटल र्याडिसनमा टीकाटालो गरेका हुन् । इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायतका फिल्मकर्मीहरु पनि उपस्थित थिए ।
गौरव र श्रेणीको आगामी मंसिरमा विवाह हुने जनाइएको छ । उनीहरु विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् । श्रेणी पेशाले जुम्बा (डान्स मुभमेन्टमार्फत गरिने थेरापी) प्रशिक्षक हुन् । उनले आफ्नो नाममा खोलेको युट्युब च्यानलमा जुम्बा प्रशिक्षणका धेरै भिडियोहरु पोस्ट गरेकी छन् ।
कलाकार टीका पहारीका छोरा रहेका गौरवले सन् २०१३ मा फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका उनी ‘साइँली’मा निर्माता समेत थिए । उनको यस वर्ष दुई फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् ।