फिल्म बनाउँदै गर्दा मेकरले आफ्नो लक्षित दर्शक पहिल्याउन सक्नुपर्छ । यो हुँदा प्रचार-प्रसारमा सहज हुन्छ । तर, नेपालका प्रायः मेकरहरुलाई आफ्नो फिल्मको लक्षित वर्ग नै थाहा हुँदैन । अन्धाधुन्ध प्रचार गरिरहेका हुन्छन् । पैसा र समय दुवै खेर गैरहेको छ । यही असोज २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘परदेशी २’ले भने लक्षित दर्शक ठम्याएर त्यो वर्गमा पुग्ने प्रयास गरिरहेको छ ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा फिल्म आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । र, फिल्मको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । फिल्मको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि फिल्मको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म फिल्मको मोफसल टुर जारी रहनेछ ।
बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका तन्नेरी विद्यार्थीहरुलाई परिवारसहित फिल्म हेर्न निम्तो दिए । अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।
२०७२ सालमा अभिनेता प्रशान्त तामाङ अभिनीत फिल्म ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक उनी विशेष भूमिकामा छन् । फिल्मको कथा प्रकाश सपूतमा घुमेको छ । गायनमा स्थापित उनले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । एकातिर यो फिल्मलाई अघिल्लो श्रृंखलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई हिरोको रुपमा सफल हुनुपर्ने दबाब छ ।
नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझी र राजेश बंशलको संयुक्त निर्माणमा बनेको हो । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको फिल्ममा गीतकार रमेश विजीको स्क्रिप्ट लेखन छ ।