मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्कृष्ट फिल्म घोषणा नगर्नुको कारण देखाउन आदेश

फिल्मीखबर, काठमाडौं, 2023/09/22

prakash

 

भदौ १२ गते राष्ट्रपति कार्यालय शितल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार बोर्डलाई जुरी (राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा) निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।

बिहीबार दिउँसो फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले जुरी कमिटीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग गर्दै चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’को जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र)लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै गायब बनाइएको चर्चा छ । तर, यस विषयमा मन्त्रालय र बोर्ड दुवै ‘तैँ चुप मैँ चुप’झैँ छन् ।

पुरस्कार समारोहमा उत्कृष्ट फिल्मबाहेकको विधामा अवार्ड बाँडिएको थियो । ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री गरी दुई विधामा अवार्ड जितेको थियो । फिल्मको टिमले अदालतमा रिट दायर गरेपछि जुरी सदस्य शिवम् अधिकारीले फेसबुकमा स्टाटस लेख्दै उत्कृष्ट फिल्मको विधामा सिफारिस भएको नाम सार्वजनिक गर्नेले आर्थिक लेनदेन गरेको गन्ध आइरहेको आरोप लगाएका छन् ।