भदौमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा सर्वोत्कृष्ट फिल्मको विधा गायब भएपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ । जुरीले ‘प्रकाश’को नाम सर्वोत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी माओवादी केन्द्रलाई नकारात्मक रुपमा चित्रण गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै मुख्य विधा नै हटाइएको चर्चा छ ।
महत्त्वपूर्ण विधामा अवार्ड वितरण नभएपछि बिहीबार ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरे । शुक्रबारको सुनुवाईमा अदालतले बोर्डलाई कारण देखाऊ आदेश जारी गर्दै जुरी निर्णयको सक्कल प्रति झिकाउन पनि भनेको छ ।
अदालतको आदेशपछि ‘प्रकाश’का अभिनेता प्रदीप खड्काले किर्ते कागजात तयार हुनसक्ने आशंका व्यक्त गरेका छन् । बनावटी कारण देखाएर अथवा किर्ते कागजात तयार गरेर अख्तियार दुरुपयोगको श्रृंखलामा अर्को घटना थप्ने कुचेष्टा हुनसक्ने आशंका गर्दै उनले फिल्मकर्मीहरुलाई सजक रहेर अन्यायविरुद्द आवाज उठाउन नहिच्किचाउन फेसबुकमा स्टाटस लेख्दै अनुरोध गरेका छन् ।
प्रदीपले सांकेतिक रुपमा चलचित्र विकास बोर्डले जुरी निर्णयको कागजात बनावटी वा किर्ते गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । बोर्ड अध्यक्ष भुवन केसीसँग उनको ‘प्रेमगीत ३’को बेलादेखि शितयुद्ध छ । उनले केसीको राजीनामा पनि मागिसकेका छन् । भुवन केसीले आफूसँगको रिसइबी साँध्न राष्ट्रिय चलचित्र पुरस्कारमा ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड नदिएको आशंका उनको छ ।