गायनमा अहिलेका ‘सुपरस्टार’ हुन्, प्रकाश सपूत । उनका हरेक गीतले लोकप्रियताको शिखर चुमेका छन् । उनका गीतमा समाज र देशको चित्र भेटिन्छ । तर, धेरै कमलाई थाहा हुन सक्छ कि उनको बाल्यकालदेखिको रुचि अभिनय हो । बलिउडका शाहरुख खान जस्तै हिरो बन्ने सपना बोकेर उनी चार भञ्ज्याङ आएका थिए । र, अब उनको त्यो सपना फिल्म ‘परदेशी २’बाट पूरा हुँदैन ।
दशैंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको कथा प्रकाशमै केन्द्रित छ । जसले गर्दा दबाब पनि अन्य कलाकारभन्दा उनमा बढी छ । गायनमा उनको लोकप्रियताको फाइदा फिल्मको व्यापारमा पर्नसक्ने विश्लेषण गरिएको छ । गायकबाट हिरो बनेका अधिकांश असफल रहेको परिपेक्षमा यसमा पनि आफूलाई अपवाद सावित गर्नुपर्ने ठूलो चुनौती उनमा छ ।
यतिबेला फिल्मको प्रचारका लागि मोफसल दौडाहामा रहेका उनले आफूले चुनौती मोलेर ‘परदेशी २’मा काम गरेको बताएका छन् । उनी भन्छन्, ‘गीतसंगीत गर्नु र फिल्ममा अभिनय गर्नु विल्कुलै फरक रहेको पाएँ । चुनौती मोलेर म यो फिल्ममा जोडिएको हुँ ।’ निर्देशक नारायण रायमाझी र आफू गीतसंगीत पृष्ठभूमिको भएकाले काम गर्न त्यति गाह्रो नभएको अभिनेता सपूतको अनुभव छ ।
फिल्मको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेको उनको दाबी छ । अध्ययनका लागि विदेशिने विद्यार्थीको भूमिका निर्वाह गरेका उनले परदेश हुँदा घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई फिल्ममा चित्रण गरिएको बताएका छन् । प्रकाश भन्छन्, ‘हाम्रो घर-समाजमा जे भैरहेको छ त्यसलाई एकदमै राम्ररी प्रस्तुत गर्ने प्रयास गरिएको छ । हामी सबैले भोगेको कथा छ ।’
अभिनेत्री केकी अधिकारीले गीत र कथावस्तु बलियो रहेको बताइन् । ‘कुनै पनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूल मर्म फिल्मले बोकेको छ,’ उनले भनिन् । प्रकाशसँग काम गर्न सहज महसुस भएको केकीको अनुभव छ । २०७२ सालमा रिलिज भएको अभिनेता प्रशान्त तामाङ अभिनीत फिल्म ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक उनी विशेष भूमिकामा छन् ।