सुपरहिट जोडी दयाहाङ राई र मिरुना मिरुना मगरको चौंथो सहकार्य रहेको फिल्म ‘रङ्गेली’को यतिबेला पूर्वमा छायांकन भैरहेको छ । आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रिमियर भने अष्ट्रेलियाको मेलबर्न शहरमा गरिने भएको छ । आगामी माघको अन्तिम हप्ता फिल्मको प्रिमियर गरिने निश्चित भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।
अष्ट्रेलियाको वितरण अधिकार लिएको कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’को प्रदर्शनसँगै प्रिमियर गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारहरुसहितको टिमको सहभागिता रहने जनाइएको छ । संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडि प्रिमियर आयोजना गर्ने तयारी भैरहेको छ । स्टारकास्टका कारण सुटिङ पनि नसकिँदै विदेशी भूमिमा फिल्मको माग उच्च देखिएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीको पनि अभिनय छ । सुशान्त गौतमको संगीतमा एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली फिल्ममा पहिलोपटक यसप्रकारले गीत छायाङ्कन गर्न लागिएको हो । गीतमा हर्क साउदको शब्द छ भने सनुप पौडेल तथा अनु चौधरीको स्वर रहनेछ ।
फिल्मको कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरूमा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । हर्कुलस बस्नेतको पनि संगीत रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् । फिल्म ग्यांगस्टर कथावस्तुमा केन्द्रित भएर बन्न लागेको हो ।