‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको लभस्टोरी फिल्म ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो उनको पहिलो फिचर फिल्म हो ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड फिल्ममा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड डेब्यूको पनि बाटो खुलाउने उनको विश्वास छ ।
एबी इन्टरनेशनलले गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह-निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित बस्नेत स्वयंको ‘हनी बनी’मा पटकथा लेखन रहेको छ ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा फिल्मको छायांकन सुरु भएको थियो । फिल्मको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’को निर्माण गरिसकेको छ भने नयाँ फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनीले ‘लार्ज स्केल’मा फिल्म बनाउने गरेको छ ।