फिल्म अभिनयमा सक्रिय कलाकारहरुले आर्यआर्जनका लागि वैकल्पिक बाटो रोज्न थालेका छन् । फिल्मको काम रोकिँदा वा उमेर ढल्किएपछि आम्दानीको स्रोतका लागि कलाकारहरुले अहिलेदेखि नै विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । कोरोना महामारीपछि यो क्रम थप बढेको छ । कसैले रेस्टुरेन्ट व्यवसायमा लगानी गरेका छन् त कोही शेयर तथा रियल स्टेट (घरजग्गा)मा आबद्ध छन् ।
‘ए मेरो हजुर २’बाट उदाएका अभिनेता सलिनमान बनियाँले पनि रेस्टुरेन्ट व्यवसायमा हात हालेका छन् । साथीहरुसँग मिलेर उनले काठमाडौंको पर्यटकीय क्षेत्र बसन्तपुरमा कोरियन रेस्टुरेन्ट खोलेका छन् । ‘चिया अड्डा’ रहेको भवनको माथिल्लो तल्लामा सलिनको ‘कोरियन किनी’ नामक रेस्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा आएको हो । उक्त रेस्टुरेन्टमा कोरियन खानाका परिकारहरु पाइनेछ ।
सलिनमान आफैंमा ‘कोरियन खाना’को पारखी हुन् । उनलाई ‘कोरियन लुक्स’ भएको अभिनेता समेत भन्ने गरिन्छ । त्यसो त उनको परिवार नै व्यवसायमा आबद्ध छ । पिताले सम्हाल्दै आएको व्यवसायलाई ‘टेकओभर’ गर्न उनले २०७५ सालमा आएको ‘यात्रा’पछि फिल्ममा काम गरेका छैनन् । तर, डेब्यू फिल्मबाटै ‘स्टार’को रुपमा उदाएका उनलाई लिएर फिल्म बनाउन धेरै मेकर तयार छन् ।
लुक्स, हेयर स्टाइल र ड्रेसअपका कारण अरु अभिनेताभन्दा पृथक मानिने सलिनमान अब आफूले सोचेको जस्तो स्क्रिप्टबाट अफर आएको खण्डमा मात्र काम गर्ने अडानमा छन् । केही समयअघि उनले एक प्रशंसकको प्रश्नमा भनेका थिए, ‘अहिले म फिल्मभन्दा मेरो व्यवसायलाई प्राथमिकता दिइराखेको छु । तर, मैले सोचेको जस्तो स्क्रिप्टबाट अफर आयो भने फिल्म गर्न कुनै समस्या छैन ।’