दशैंको एक हप्ता लामो विदा छोप्न आगामी कात्तिक ४ गते अर्थात् फूलपाती (शनिबार)बाट नेपालसँगै संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । ब्रान्ड नाम, पोस्टरदेखि टिजर-गीतसंगीतले पाएको चर्चा, सशक्त स्टारकास्टका कारण फिल्मलाई लिएर दर्शकहरु अधैर्य देखिएका छन् ।
विदेशी भूमिमा समेत फिल्मले व्यापारिक रेकर्ड राख्न सक्ने आँकलन गरिएको छ । ट्रेलर समेत रिलिज नहुँदै विदेशका केही देशमा फिल्मलाई शो टाइम उपलब्ध भैसकेको छ । यसको मतलब फिल्मको बुकिङ खुलेको छ । अष्ट्रेलियाको मेलबर्नस्थित चाइना टाउन सिनेमामा फिल्मले अक्टोबर २३, २५, ३० र नोभेम्बर ५ का लागि शो टाइम पाएको छ । त्यस्तै क्यानबरामा प्रिमियर राखिएको छ ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको जापानको कान्साई क्षेत्रको नाराबाहेक क्योटो, ओसाका र कोबेमा पनि फिल्मको शो टाइम सार्वजनिक गर्दै बुकिङ खुलेको छ । बेल्जियमको एन्टवर्प, ब्रसेल्स, लोवेन, ब्रुग्स र घेंट शहरका लागि पनि शो टाइमसहित बुकिङ खुलिसकेको छ । अन्य देशमा केही दिनमै ‘शो टाइम’ उपलब्ध हुने जनाइएको छ । यसले विदेशमा ‘भष्मे डन’को क्रेज दर्शाउँछ ।
घरेलू बजारमा फिल्मको डेढ करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएको छ । ‘लाइफटाइम कलेक्सन’ भने वर्ड अफ माउथमा निर्भर रहनेछ । दीपेन्द्र के. खनालको निर्देशन र खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, संजोग रसाइली लगायतको अभिनय छ ।