‘रोमान्टिक हिरो’को छवि बनाएका भुवन केसीको निजी जीवनमा पनि रोमान्सका किस्सा धेरै छन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनको धेरै अभिनेत्रीहरुसँग नाम जोडियो । दुईवटा त उनले विवाह नै गरे । तर, दुवै टिकेन । विगत केही वर्षदेखि उनी अभिनेत्री जीया केसीसँग लिभिङ टूगेदरमा छन् । कानुनी रुपमा श्रीमान्-श्रीमती नभइसके पनि दुवै एकअर्काको बलियो साहरा बनेका छन् ।
करिब ५/६ वर्ष त भुवनले जीयासँगको सम्बन्ध लुकाएरै राखे । तर, आजभोलि दुवै खुलेरै रमाइरहेका छन् । जहाँ जाँदा पनि साथमै हुन्छन् । अहिले भुवन घुमफिरका लागि जीयाको साथमा पर्यटकिय गन्तव्य स्विट्जरल्यान्ड पुगेका छन् । उनीहरुले स्विट्जरल्यान्ड भ्रमणलाई स्मरणीय बनाउन फेसबुकमा तस्विर सेअर गर्नेदेखि रोमान्टिक अन्दाजमा टिकटक भिडियोहरु समेत बनाइरहेका छन् ।
जीयाले बुधबार भुवनसँग रोमान्टिक अन्दाजमा बनाएको एउटा टिकटकले त उनीहरुकै कथा बोल्छ । बलिउड फिल्म ‘ब्रह्मचारी’मा समावेश चर्चित गीत ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर, सबको मालूम है और सबको खबर हो गई’मा जीयाले टिकटक भिडियो बनाएकी छन् । गीतले भनेझैँ उनीहरुको सम्बन्धलाई लिएर पनि चर्चा भैरहेको छ । र, हरजोही यसबारेमा जानकार छन् ।
अघिल्लो वर्ष भुवनले अमेरिका भ्रमणको क्रममा जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजना रहेको बताएका थिए । उनले विवाहको संकेत गरेका थिए । उनले भनेका थिए, ‘हामी धेरै वर्षदेखि सँगै बस्दै आइरहेका छौं । अब त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । चाँडै हामीले एउटा निर्णय लिन्छौं ।’ भुवन हाल चलचित्र विकास बोर्डको अध्यक्ष छन् ।
@jiyakc02 In Switzerland zurich2023
♬ Aaj Kal Tere Mere Pyar Ke