निर्देशक दीवाकर भट्टराईले आफ्नो नयाँ फिल्म ‘मायावी’को छायांकन सुरु गरेका छन् । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रमा एउटा रोमान्टिक गीत खिचेपछि बिहीबारबाट तालनगरी पोखरामा औपचारिक रुपमा फिल्मको छायांकन सुरु गरिएको हो । क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि छायांकन थालिएको फिल्ममा पल शाह, दीपिका प्रसाईं, समीम खान, सुशील सिटौला मुख्य भूमिकामा छन् ।
निर्देशक भट्टराईले राज कटुवाल र चन्द्र पन्तसँग निर्माणमा सहकार्य गरेको फिल्ममा राजु थापाको डिओपी, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रचना छ । ३५ दिनसम्म पोखरामै छायांकन सेड्युल राखिएको फिल्ममा प्रशान्त ताम्राकार, राजाराम पौडेल, करिश्मा श्रेष्ठलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पोखराको परिवेशमा रहेर तयार पारिएको जनाइएको छ ।
‘क्रिएटिभ सिने आर्ट्स’को निर्माण रहने फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । ‘मायावी’बाट पलले डेढ वर्षपछि कमब्याक गर्दैछन् । उनी एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुनमा रिहा भएका थिए । जेलबाट छुटेपछि ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरेका उनले भदौमा कलाकार तथा निर्देशक अनुप बरालबाट तीन हप्ता ‘मेर्थड एक्टिङ’ सिकेका थिए ।