बलिउड फिल्मदेखि डराउनुपर्ने नेपाली फिल्मको बाध्यता दशकौंदेखि कायम छ । केही वर्षयता त साउथ फिल्मले पनि नराम्रोसँग लखेट्न थालेको छ । अर्कोतिर, हलिउडको त्रास त छँदैछ । ठूला स्टारका विदेशी फिल्मसँग भिड्दा हल र दर्शक दुवै नपाइने भय निर्मातामा हुने गरेको छ । यसैले निर्माताहरु ‘हुलमुलमा जिउ जोगाउनु’ निको ठान्छन् । तर, केही वर्षयता परिस्थिति बदलिँदो छ ।
कुनै समय बलिउड फिल्मसँग भिड्न कल्पना गर्न समेत डराउने निर्माताहरु अहिले ठूलो मुटु लिएर अघि आइरहेका छन् । यसको उदाहरण फिल्म ‘दिमाग खराब’ हो । यो फिल्म तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजका लागि तिहार विदा उपयुक्त मानिन्छ । हरेक तिहारमा बलिउडको एउटा ठूलो फिल्म समेत रिलिज हुने गर्छ । र, यसपालि पनि छ ।
बलिउड ‘सुपरस्टार’ सलमान खानको ‘टाइगर’ फ्रेन्जाइजको तेस्रो श्रृंखला दीपावलीको अवसर पारेर कात्तिक २४ गतेबाटै प्रदर्शनमा आउँदैछ । यसका अघिल्ला दुई श्रृंखलाले नेपालमा सानदार कमाई गरेका थिए । केही दिनअघि सार्वजनिक ‘टाइगर ३’को टिजरले भारतमा ‘रेकर्डब्रेक’ ओपनिङको संकेत गरिसकेको छ । र, नेपालमा पनि यस फिल्मलाई लिएर दर्शकको ठूलो जमात अधैर्य छ ।
नेपाली वितरकहरु ‘टाइगर ३’लाई आफ्नो कब्जामा पार्न यतिबेला दह्रो दौडधुप गरिरहेका छन् । यो फिल्म नेपालमा अहिलेसम्मकै सर्वाधिक महंगो मुल्यमा भित्रिने आँकलन गरिएको छ । यो हुँदा वितरकलाई लगानी सुरक्षित गर्न बक्स अफिसको दबाब रहन्छ । मल्टीप्लेक्सहरुले पनि फिल्मलाई भरमार शो दिने निश्चित प्रायः छ । जसको सिधा असर ‘दिमाग खराब’को शो र व्यापारमा पर्नेछ ।
यसका बावजूद पनि सलमान खानको स्टारडमसँग भिड्न तयार हुनु सानोतिनो हिम्मत होइन । त्यसो त निश्चल बस्नेत जस्ता मेकरले यत्तिको आँट गर्न सक्नुपर्छ । किनकि, उनीप्रति र उनका फिल्मप्रति दर्शकको ठूलो विश्वास छ । अब ‘टाइगर ३’सँगको प्रतिस्पर्धामा ‘दिमाग खराब’ले आफूलाई बलशाली रुपमा उभ्याउन सकेको खण्डमा नेपाली फिल्म क्षेत्रमा नै एउटा सम्झनलायक नजीर बस्नेछ ।
‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । ‘लुट’बाट उनले नेपाली फिल्मको ‘नक्सा’ नै बदलेका थिए । यसैले उनको कमब्याक फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । त्यसमाथि फिल्ममा चलेका कलाकारहरु छन् । जसले गर्दा फिल्म चल्ने आधार बलियो छ । अब ‘टाइगर’को दिमाग खराब गर्नु फिल्मको ठूलो चुनौती हो । यसका लागि ‘वर्ड अफ माउथ’ तगडा हुनुपर्छ ।