अक्सर नेपाली फिल्मको प्रचारदेखि प्रिमियरसम्म काठमाडौं केन्द्रित हुने गरेको छ । तर, बडा दशैंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले भने प्रचार र प्रिमियर दुवैका लागि मोफसल रोजेको छ । फिल्मको कथामा आधारित गीति नाटक चितवनदेखि पोखरासम्मका कलेजहरुमा देखाएपछि शुक्रबार दिउँसो बाग्लुङमा प्रिमियर आयोजना गरियो ।
प्रिमियरका लागि बाग्लुङ नै रोज्नुको कारण विशेष छ । ‘परदेशी २’बाट हिरो बनेका चर्चित गायक प्रकाश सपूतको गृहजिल्ला हो यो । यसैले उनको डेब्यू फिल्म पहिलोचोटी उनकै जिल्लाबासीलाई देखाउन निर्माण टिमले प्रिमियर आयोजना गरेको हो । बिएसआर मुभिजमा भएको प्रिमियरमा प्रकाशसहित अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझी आदिको उपस्थिति रहेको थियो ।
प्रिमियरभन्दा अघि फिल्मको टिमलाई बाग्लुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्कालगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए । प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बाग्लुङमा फिल्मको प्रिमियर हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । बाग्लुङ नगरलाई फिल्म सुटिङको आकर्षक गन्तव्यस्थल बनाउन समेत पहल गर्ने उनले बताए ।
फिल्म हेरेर हलबाट निस्कँदै गर्दा उपस्थित प्रायः दर्शक र पाहुनाका आँखा रसाएका थिए । सबैले फिल्मको कथा अहिलेको समय सापेक्ष रहेको भन्दै कथावस्तु, कलाकारको अभिनय, निर्देशन पक्ष, छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । अभिनेता सपूत भने आफूले अभिनय गरेको पहिलो फिल्म नै पहिलोपटक जिल्लाबासीलाई देखाउन पाउँदा निकै प्रफुलित भावमा देखिएका थिए ।
फिल्ममा प्रकाश र केकीको साथमा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको फिल्ममा गीतकार तथा संगीतकार रमेश विजीको लेखन छ । यो फिल्मले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ ।