नेपाली अभिनेत्रीहरु विदेश पुगेपछि पहिरनको मामलामा खुल्ने ट्रेन्ड जस्तै छ । विशेषगरी विदेशका समुन्द्री तटमा पुगेपछि प्रायःले विकिनी अवतारमा खिचाएका तस्विरहरुले आफ्नो सामाजिक सञ्जाल रंग्याउने गरेका हुन्छन् । र, त्यसले मिडियामा ठूलो चर्चा पनि दिलाइदिन्छ । वर्षौंसम्म गुमनाम अभिनेत्रीहरुलाई समेत समुन्द्री तटका विकिनी तस्विरले ‘लाइमलाइट’मा ल्याएका उदाहरण छन् ।
फिल्ममा प्रायः साधारण चरित्रमा देखिने गरेकी अभिनेत्री मलिना जोशी पनि विदेशको समुन्द्री तट पुगेपछि खुलेकी छन् । व्यक्तिगत भ्रमणको शिलशिलामा अष्ट्रेलिया पुगेकी उनले सिड्नीको समुन्द्री तटमा ‘वान-पीस स्विमसुट’मा खिचाएको दुईटा तस्विर सामाजिक सञ्जालमा साझेदार गरेकी छन्, जुन चर्चाको विषय बनेको छ । उनको पोस्टमा धेरैले ‘हट एन्ड व्यूटिफुल’ भन्दै तारिफ गरेका छन् ।
मलिनाको फिल्मी करिअर अपेक्षाकृत छैन । २०१३ देखि अभिनय करिअर सुरु गरेकी उनले ९ वटा फिल्ममा काम गरिसकेकी छन् । त्यसमध्ये विशेष भूमिका रहेको फिल्म ‘छक्का पञ्जा ४’ मात्र सफल रह्यो । तर, यसको ‘क्रेडिट’ उनले पाइनन् । अभिनयमा पनि खासै प्रशंसा कमाउन नसकेकी उनी यतिखेर फिल्मविहीन छिन् । यही मौकामा उनी अष्ट्रेलिया भ्रमणमा निस्किएकी हुन सक्छिन् ।
फिल्मभन्दा बढी चर्चा उनको ‘लभ लाइफ’को हुन्छ । फिल्म ‘रानी’को समयमा उनी अभिनेता अनुपविक्रम शाहीसँग प्रेम सम्बन्धमा थिइन् । फिल्म रिलिजसँगै सम्बन्धमा पनि पूर्णविराम लाग्यो । त्यसपछि उनी करिब ३ वर्ष जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा रहिन् । यी दुई विवाहको तयारीमा समेत थिए । तर, एक वर्ष अगाडि दुवै अलग भए । फिल्मसँगै प्रेम जीवन पनि उनको सफल देखिन्न ।