मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फिल्मीखबर, काठमाडौं, 2023/10/01

आपराधिक विश्वासघातको मुद्धामा असोज १२ गते शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन (पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आजसम्म) हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनमोललाई सोमबार अदालतमा पुनः उपस्थित गराइनेछ ।

फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

 

छाड्नका लागि किन फिल्म साइन गर्छन् अनमोल ?


अदालतमा म्याद थपका लागि लैजानुभन्दा अगाडि अनमोलसँग महानगरीय प्रहरी परिसर टेकुमा करिब ३ घण्टा सोधपुछ भएको थियो । उक्त सोधपुछमा उनले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’का निर्माताले लिन नमानेको र आफूलाई स्क्रिप्ट चित्त नबुझेकाले काम गर्न अस्वीकार गरेको बताएका थिए । प्रहरीले सोधपुछपछि उनलाई अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले पक्राउ गर्नुभन्दा दुई दिन अगाडि (असोज १० गते बुधबार) अनमोलले उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ लिइसकेका थिए । देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने र यो विषयमा अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले आपराधिक विश्वासघातमा परेको जाहेरीको आधारमा अनमोललाई पक्राउ गरेको र यो फौजदारी मुद्धा रहेको दाबी गरेको छ ।

एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपसहित अनमोलविरुद्ध उजुरी परेको हो । उनले फिल्ममा काम गर्ने वाचा गरेपछि प्राविधिकसहित विभिन्न पक्षमा उक्त रकम खर्च भएको ‘रावायण’ टिमको दाबी छ । यही असोज १२ गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा सुदर्शन थिए । तर, अनमोलले काम गर्न अस्वीकार गरेपछि फिल्मको निर्माण नै अन्योल बनेको छ ।