मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरासतमुक्त भए अनमोल, प्रहरीले बोलाउँदा हाजिर हुनुपर्ने

फिल्मीखबर, काठमाडौं, 2023/10/01

अभिनेता अनमोल केसी पक्राउ

 

असोज १२ गते (शुक्रबार साँझ) साँगाबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आइतबार (आज)सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो ।

अब अनमोल प्रहरीले बोलाएको बेला हाजिर हुनुपर्नेछ । हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । आपराधिक विश्वासघातको मुद्धामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

पक्राउ परेकै साँझ अनमोल प्रहरीको हिरासत छल्न स्वास्थ्यमा समस्या देखाएर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए । उनलाई आइतबार अस्पतालबाटै अदालत लगिएको थियो । अदालतमा उपस्थित गराउनुभन्दा अगाडि उनलाई महानगरीय प्रहरी परिसर टेकुले करिब ३ घण्टा सोधपुछ गरेको थियो । त्यहाँ उनले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’का निर्माताले लिन नमानेको र आफूलाई स्क्रिप्ट चित्त नबुझेकाले काम गर्न अस्वीकार गरेको बताएका थिए ।