मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलप्रति प्रदीपको कटाक्ष- ‘५-७ वटी दुलही सोझा परे भन्दैमा सबै एकै नहोलान्’

फिल्मीखबर, काठमाडौं, 2023/10/02

आपराधिक विश्वासघातको उजुरीको आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ हिरासतमुक्त भए । फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले फिल्ममा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै उजुरी दिएपछि त्यही आधारमा उनी पक्राउ परेका थिए ।

 

अनमोल र प्रदीप पारिश्रमिक घटाउन तयार छन् ?


अनमोलले यसअघि पनि केही फिल्मबाट पेस्की रकम बुझेर पछि काम गर्न अस्वीकार गरेका थिए । २०७६ सालमा सुदर्शनले झैँ फिल्म ‘धुपौरे’का निर्माताले पनि उनीविरुद्ध प्रहरीमा ठगी मुद्दामा उजुरी दिएका थिए । पछि यो विवाद आपसी सहमतिमा मिलेको थियो । यसपटक भने अनमोल पक्राउ नै परे । प्रहरीसँगको बयानमा उनले १० लाख रुपैयाँ फिर्ता गर्न खोज्दा पनि निर्माताले नलिएको र आफूलाई स्क्रिप्ट चित्त नबुझेपछि फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए ।

यसैक्रममा, अनमोलप्रति लक्षित गर्दै उनका प्रतिस्पर्धी मानिएका अभिनेता प्रदीप खड्काले फेसबुकमा कटाक्षपूर्ण शैलीमा स्टाटस लेखेका छन् । उनले विवाहको उदाहरण दिँदै लेखेका छन्, ‘५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा सबै एकै नहोलान् नी ! योपल्टको अलि गाह्रै खाल्की छे भन्ने बुझ्न पर्ने ।’ उनको आशय अनमोलले यसअघि छाडेका फिल्मका निर्माता सोझा परेकोले पेलेको भन्ने बुझिन्छ ।

अनमोलले स्क्रिप्ट चित्त नबुझेको र निर्मातालाई १० लाख फिर्ता गर्न खोजेको भन्ने प्रशंगलाई घुमाउरो रुपमा इंकित गर्दै उनी अगाडि लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो, तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मनपर्न छाड्यो भन्ने । विवाहोत्तर त, सुहागरात मात्र भएको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक-कान मिलाएर ल्याउनु हैन भने दुलही लानुस् म विस्तारै दाइजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै !’

उनले कानुनी वा सामाजिक जेसुकै रुपमा विवाह भए पनि दुलहीले अंश माग्ने र कानुनले पनि त्यही दिलाउने उल्लेख गरेका छन् । फिल्ममा काम गर्नका लागि पेस्की रकम बुझिसकेपछि कागजी सम्झौता नगरे पनि कानुनले क्षतिपूर्ति दिलाउने उनको आशय रहेको बुझिन्छ । अनमोलले कागजी सम्झौता नगरी ‘रावायण’का निर्माताबाट १० लाखको चेक पेस्कीस्वरुप लिएका थिए ।

 

pradeep khadka


प्रदीपले विश्वप्रख्यात खेलाडी लियोनेल मेस्सी र विराट कोहलीको उदाहरण दिँदै खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको हुने उल्लेख गरेका छन् । यसबाट उनले ‘रावायण’को विवादमा निर्णय गर्ने अधिकार कानुनको रहेको भन्न खोजेको देखिन्छ । गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले गोल हान्न छाडिदिए पनि कसैका लागि त्यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुनसक्ने उनले बताएका छन् ।

खेलको बीचबीचमा रुवाबासी गर्नुभन्दा मैदान पस्नुभन्दा अगाडि सोचेर निर्णय गर्न आग्रह गर्दै उनले कानुनी राजको विकल्प नभएको उल्लेख गरेका छन् । उनले अनमोललाई कुनै फिल्ममा काम गर्न लाग्नुभन्दा पहिला सोचेर निर्णय गर्न सुझाव दिएको देखिन्छ । यो स्टाटसले अनमोलसँग उनको बढ्दो दुश्मनीलाई संकेत गर्छ । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । अनमोलका पिता भुवन केसीसँग त उनको पानी बाराबारकै अवस्था छ ।