मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रावायण’ निर्मात्रीको अनमोलमाथि आरोप- ‘मीठो बोलीमा फसाउने नियत रहेछ’

फिल्मीखबर, काठमाडौं, 2023/10/03

फिल्म ‘रावायण’को विवाद प्रहरी हुँदै अदालतसम्म पुगिसकेको छ । निर्देशक सुदर्शन थापाकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले आपराधिक विश्वासघातको आरोपमा दिएको उजुरीको आधारमा पक्राउ परेर अभिनेता अनमोल केसी आइतबार रिहा समेत भैसकेका छन् । तर, विवाद टुंगिसकेको छैन । निर्माताले अनमोलसँग १ करोड १५ लाख भरपाईको माग गरेका छन् । प्राविधिकदेखि विभिन्न पक्षमा उक्त रकम खर्च भएको बताइएको छ ।

अनमोलले रिहा भएको भोलिपल्ट (सोमबार) पेश्कीबापत बुझेको १० लाख रुपैयाँ निर्माताको बैंक खातामा पठाइसकेका छन् । उनले फिल्म सम्झौता नगरी ३ महिनाअघि उक्त रकम काम गर्ने सर्तमा बुझेका थिए । पछि उनले स्क्रिप्ट चित्त नबुझेको भन्दै काम गर्न अस्वीकार गरे । यसपछि निर्माता प्रहरी गुहार्न बाध्य भएका थिए । अहिले फिल्मकर्मीहरु कोही अनमोल त कोही सुदर्शनको पक्षमा उभिएका छन् ।

 

Supriya Katwal and anmol kc


कतिपयले कागजी सम्झौता नै नगरी पेश्कीबापत १० लाख रुपैयाँ दिनुलाई निर्माताको गल्ती भनेका छन् । यस विषयमा फिल्मकी निर्मात्री सुप्रिया कटुवालले सोमबार साँझ फेसबुकमा स्टाटस लेख्दै फिल्ममा काम गर्ने भनेर मौखिक र व्यवहारिक सहमतिमा चेक दिएको र निरन्तर कागजी सम्झौता गर्न आग्रह गर्दा अनमोलले टारेको उल्लेख गरेकी छन् । अनमोलको मीठो बोलीमा आफूहरुलाई फसाउने नियत रहेको उनको आरोप छ ।

उनी लेख्छिन्, ‘स्क्रिप्टमा यसो गरौं, गीत यसरी गरौं भन्दै निरन्तर सल्लाह-सुझाव दिँदै कागजी सहमति गरौं भन्दा जहिले गर्दा पनि हुन्छ भनेर मीठो बोलीमा फसाउने नियत स्पष्ट रहेछ । तर, हाम्रो सोझोपना र इमानदारिताले त्यो आत्मीयतामा सधैं अन्धो विश्वास गरिरह्यो । सुटिङलाई चाहिने ड्रेस घरमै नाप्नुभयो, कपालको नाप दिन आफैं जानुभयो । यी सबै चाहिने आवश्यक सामान पनि तयार भए ।’

अनमोल आफैंले फिल्ममा काम गर्न आफू तयार भएको र जतिसक्दो छिटो स्पट (छायांकन)मा जान आग्रह गर्दै अफिसबाट छुटेको भोलिपल्ट अचानक फोन गरेर उक्त भूमिका निभाउन नसक्ने र तयारीका लागि अनिश्चित समय मागेको सुप्रियाले उल्लेख गरेकी छन् । छलफलका लागि अफिस बोलाउँदा अनमोलले निर्मातालाई नचिन्ने भन्दै रवाफपूर्ण जवाफ फर्काउन थालेपछि कानुनी बाटो रोज्न बाध्य भएको उनको भनाई छ ।

 

supriya katwal


‘छलफलका लागि अफिस आउनुहोस् भनेर पत्र समेत कट्दा वकिलको भाषामा अब छलफल गर्नुपर्ने औचित्य नै सकिएको भनेर रवाफपूर्ण जवाफ पठाउने, टेलिफोन सम्पर्कमा निर्मातालाई म चिन्दिनँ, तपाइँ को हो ? केका लागि १० लाखको चेक दिनुभएको भनेर संवेदनाहिन तर्क समेत दिएपछि कानुनी बाटो रोज्न बाध्य भएको हो,’ उनले लेखेकी छन् । सञ्चारमाध्यम पनि बेखबर जस्तै बनेर एकोहोरो दोषीकै पक्षमा बोलेको पनि उनको गुनासो छ ।

सुप्रियाले अनमोललाई गत असार ३१ गते १० लाखको चेक दिएको फोटोसहित अनमोल र निर्देशक थापाबीच व्हाट्सएपमा भएको कुराकानीको ‘स्क्रिनसट’, टिमबीच स्क्रिप्टमा भएको छलफलको भिडियो, अनमोलको चरित्रका लागि बिग (नक्कली कपाल)का तस्विर समेत फेसबुकमा राखेकी छन् । जसले फिल्मको काम धेरै अगाडि बढेको देखाउँछ । तर, अब फिल्मको निर्माण नै अन्योल बनेको छ ।