निर्देशक निश्चल बस्नेतले डेब्यू फिल्म ‘लुट’बाट नेपाली फिल्ममा परम्परागत कथावाचनको शैली नै परिवर्तन गरिदिए । नभए नेपाली फिल्म एकैखालको कथावाचनमा चलिरहेको थियो । नयाँ प्रयोग नै हुन सकेको थिएन । अर्कोतिर, देशभित्रै बजार खस्किँदो थियो । ‘लुट’ले घरेलू बजारको आकार मात्र देखाएन, विदेशमा समेत सम्भावना देखाइदियो । त्यसैले ‘लुट’लाई ‘ट्रेन्ड सेटर’ फिल्म भनिन्छ ।
‘लुट’पछि निश्चलले फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’को निर्देशन गरे । तर, ‘लुट २’को खराब समीक्षापछि निर्देशनबाटै टाढा बसेका उनी ६ वर्षपछि फिल्म ‘दिमाग खराब’बाट निर्देशनमा फर्किएका छन्, जुन आगामी कात्तिक २५ गते (तिहार)बाट प्रदर्शनमा आउँदैछ । तीन हप्ताअघि युट्युबमा सार्वजनिक टिजर हेर्दा फिल्म राजनीतिक विषयवस्तुमा आधारित भएर बनेको बुझ्न सकिन्छ ।
तर, निर्देशक बस्नेत फिल्मभित्र राजनीतिक विषय भए पनि सामाजिक कथा रहेको दाबी गर्छन् । कुनै राजनीतिक एजेण्डामा फिल्म नबनाएको समेत उनको दाबी छ । सोमबार गीत रिलिज कार्यक्रममा उनले भने, ‘मैले कुनै राजनीतिक एजेण्डामा फिल्म बनाएको होइन । म आफैंले पनि कुनै दलप्रति झुकाव राखेको छैन । यो विशुद्ध मनोरञ्जनात्मक फिल्म हो । सामाजिक कथामा बनेको छ ।’
राम्रो र रमाइलो फिल्म बनाउने प्रयत्न गरेको बताउँदै निश्चलले एउटा साधारण मान्छेको कथालाई प्रस्तुत गरिएको प्रष्ट्याए । ‘एउटा साधारण मान्छेको आफ्नै भोगाईहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग खराब हुन पुग्छ भन्ने उत्तर खोज्न यो फिल्म बनाएका हौं,’ उनले भने, ‘फिल्ममा म लगाम लगाएको घोडाजस्तै सीधा छु । दायाँ-बायाँ छैन ।’
फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ । निश्चलले पहिलोपटक श्रीमतीलाई ‘एक्सन-कट’ गरेका हुन् । केही फिल्म र म्यूजिक भिडियोमा भने उनीहरुको सहकार्य भएको थियो । उनी ‘बुलबुल’, ‘चिसो मान्छे’ फिल्म हेरेपछि स्वस्तिमाको अभिनयमा आफूले धेरै परिपक्वता देखेको बताउँछन् । उनले फिल्ममा आफू स्वस्तिमासहित सबै कलाकारको कामबाट सन्तुष्ट रहेको बताए ।
निश्चलको कमब्याक फिल्म बक्स अफिसमा भने बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’सँग भिड्दैछ । ठूलो विदेशी फिल्मसँग भिड्दा नेपाली फिल्ममाथि शोमा विभेद भएका कयैन् उदाहरण छन् । तर, निश्चल यसपटक त्यो नहुनेमा विश्वस्त देखिन्छन् । राम्रो फिल्मको शो बढ्दै जाने भएकाले कमसेकम सुरुमा बराबर शो दिने परम्पराको विकास हुनुपर्ने उनको जोड छ ।