२०७२ सालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘पशुपति प्रसाद’ घरेलू बक्स अफिसमा ‘नपत्याउने खोला’ बनेको थियो । किनकि, रिलिजपूर्व फिल्मको हाइप सामान्य थियो । कलाकारहरु पनि नाम कहलिएका थिएनन् । मुख्य भूमिकामा रहेका खगेन्द्र लामिछाने र विपिन कार्की आफूलाई स्थापित गर्ने चरणमा थिए । जसले गर्दा फिल्म व्यावसायिक रुपमा सफल हुनेमा टिमभित्रै संशय थियो ।
तर, फिल्म व्यावसायिकसँगै समीक्षात्मक रुपमा पनि सफल रह्यो । यथार्थपरक विषय, कलाकारको जीवन्त अभिनय, चुस्त पटकथा तथा संवाद र कसिलो प्रस्तुतीकरण फिल्मको सबल पक्ष थियो । र, सफल हुने आधार पनि । यो फिल्मबाट तीनजना पात्र जबर्जस्त स्थापित भए । निर्देशनमा दीपेन्द्र के. खनाल र अभिनयतर्फ खगेन्द्र र विपिन । विपिनलाई त कलाकारितामै ‘पूर्नजन्म’ गराइदियो ।
गएको आठ वर्षमा धेरै फिल्म आए । धेरै सफल भए । तर, ‘पशुपति प्रसाद’ले जति दर्शकको तिर्खा कमै फिल्मले मेटाउन सकेका छन् । अब यसको चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसपटक फिल्मलाई रिलिजपूर्व नै ‘स्योर सट हिट’ भनिन थालिएको छ । यसको पाँचवटा आधार हामीले यहाँ पहिल्याएका छौं ।
१. ब्रान्ड नाम
संसारमा पशुपतिनाथ मन्दिर र नेपाली फिल्म क्षेत्रमा ‘पशुपति प्रसाद’ नाम दुवै प्रख्यात छन् । यो नाम आफैंमा सफलताको बलियो आधार हो । किनभने, अघिल्लो श्रृंखलाले दर्शकबाट कमाएको विश्वास लोभलाग्दो छ । यसको फाइदा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हुनसक्छ । फिल्मको इनिसियल व्यापारमा ब्रान्ड नामको प्रभाव ठूलो देखिन सक्ने प्रक्षेपण फिल्मकर्मीहरुले गरेका छन् ।
२. सशक्त स्टारकास्ट
‘पशुपति प्रसाद’मा काम गर्दा विपिन आफूलाई स्थापित गर्न संघर्षरत थिए । सिक्वेलसम्म आइपुग्दा उनी ‘स्टार’ कहलिसकेका छन् । त्यसमाथि उनले निभाएको ‘भष्मे डन’ चरित्र दर्शकले सर्वाधिक रुचाइएकोमध्ये पर्छ । यसपटक उनी त्यही चरित्रमा फर्किएका छन्, जुन दर्शकलाई हलसम्म तान्ने बलियो आधार हो । त्यसमाथि फिल्ममा सौगात मल्ल, स्वस्तिमा खड्कालगायतको पनि अभिनय छ ।
विपिन र सौगातलाई एकसाथ हेर्न दर्शकलाई रुचिकर हुनसक्छ । सम्भवतः ५ वर्षपछि उनीहरुले एकसाथ काम गरेका हुन् । ‘भष्मे डन’को पोस्टरमा सौगातको लुक्सपछि धेरैमा उनको भूमिकाबारे चासो बढेको छ । कतिपयले फिल्ममा विपिन र सौगातको टक्कर हुनसक्ने आँकलन गरेका छन् । उनीहरुसँगै स्वस्तिमाको ‘फेस भ्यालु’ले फिल्मलाई सफलतातर्फ डोहोर्याउन सहयोग गर्न सक्छ ।
३. मेकरप्रति विश्वास
दर्शकको एउटा वर्ग यस्तो पनि छ, जसले मेकरअनुसार फिल्म हेर्ने या नहेर्ने निधो गर्छ । त्यो वर्गको रोजाईमा पनि ‘पशुपति प्रसाद २’ पर्ने सम्भावना बलियो छ । किनकि, यसका निर्देशक दीपेन्द्र के. खनाल र निर्माता तथा लेखक खगेन्द्र लामिछानेले आफूलाई पटक-पटक प्रमाणित गरिसकेका छन् । उनीहरुप्रतिको भरोसा र विश्वासले पनि हलमा दर्शकको ठूलो जमात तान्नेमा दुईमत छैन ।
४. गीतसंगीतको चर्चा
गीत लोकप्रिय हुँदैमा फिल्म चल्छ भन्ने ग्यारेन्टी हुँदैन । गीत हिट भएर पनि फिल्म नचलेका कयैन् उदाहरण छन् । तर, फिल्मप्रति कौतुहलता जगाउन गीतको ठूलो भूमिका रहन्छ । ‘पशुपति प्रसाद २’को दुई गीत ‘दुई चुल्ठी बाटन’ र ‘प्रेम शरणम्’ अहिले चर्चाको केन्द्रमा छन् । फिल्म आफैंमा बलियो सावित भएको अवस्थामा व्यापार बढाउन यी दुई गीतले पनि ठूलो भूमिका खेल्न सक्नेछन् ।
५. दशैं विदा र सोलो रिलिज
दशैंको विदा फिल्म प्रदर्शनका लागि सबैभन्दा उपयुक्त मानिन्छ । किनभने, विदा लामो हुन्छ । ‘पशुपति प्रसाद २’ले फूलपातीबाट प्रदर्शन थाल्दैछ । फूलपातीबाट ६ दिनसम्म दशैं विदा छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको अवस्थामा यो फिल्मले दशैं विदाको फाइदा राम्रैसित उठाउनेछ । र, यो फिल्म एकल रिलिज हुँदैछ । फिल्मलाई पैसा छाप्न योभन्दा गतिलो मौका अरु के हुन सक्छ ?