भनिन्छ, ‘विश्वासभन्दा ठूलो अरु केही पनि छैन ।’ मानिसको जीवन नै विश्वासमा टिकेको छ । तर, नेपाली फिल्म क्षेत्रमा विश्वास भन्ने चिज नै लोप भैसकेको छ । यसैको परिणाम हो, फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद । एउटा नायकमाथि गरिएको विश्वासले निर्माता यतिबेला घर न घाटको भएका छन् । र, निर्माताले आवेशमा निर्णय लिँदा ती नायकको चरित्रमा नमेटिने दाग लागेको छ ।
फिल्ममा काम गर्ने सहमतिमा अभिनेता अनमोल केसीले गत असार ३१ गते बिना कागजी सम्झौता १० लाखको चेक बुझेका थिए । अहिले उत्पन्न समस्याको मुल जड नै यही हो । निर्माताले विश्वासको भरमा सम्झौता बिना नै पेश्कीबापत चेक दिएको देखिन्छ । र, अनमोलले चेक समेत भजाएका छन् । यसको मतलब उनी फिल्ममा काम गर्न राजी थिए । तर, रातारात कहानी कसरी बदलियो ?
निर्माताले दिएको उजुरीको आधारमा अनमोल पक्राउ परेपछि प्रहरीसँगको बयानमा उनले आफूलाई स्क्रिप्ट चित्त नबुझ्दा फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए । त्यसो भए उनले कुन आधारमा निर्माताबाट १० लाखको चेक बुझेका थिए ? हुन त धन देख्दा महादेवको पनि तीन नेत्र हुन्छ भन्ने गरिन्छ । अनमोल त झन् मान्छे न परे । चेकको अंकको अगाडि स्क्रिप्ट ठूलो लागेन कि !
उनले फाइनल स्क्रिप्ट चित्त बुझेपछि मात्र चेक बुझ्ने धैर्यता गर्न नसक्दा अहिलेको दुर्घटना निम्तिएको देखिन्छ । उनले चेक बुझेपछि निर्माताले फिल्मको प्रि-प्रोडक्सनको काम अगाडि बढाए । प्राविधिकदेखि कलाकारसम्म धमाधम भित्रिँदै गए । प्रप्स तयार गर्नेदेखि म्यूजिक निर्माणको काम जोरसोरले चल्यो । जहाँ निर्माताको लाखौं रुपैयाँ गैसकेको थियो, जसबाट अनमोल पनि बेखबर थिएनन् ।
अनमोलले निर्वाह गर्ने चरित्रका लागि तयार गरिएको बिग (नक्कली कपाल)
उनलाई स्क्रिप्टमै ‘धुकचुक’ थियो भने निर्मातालाई अन्य पक्षमा खर्च गर्नबाट जोगाउन सक्थे । स्क्रिप्ट नै तिखार्न जोडबल गर्न सक्थे । तर, उनले स्क्रिप्टभन्दा प्राविधिकदेखि म्यूजिक छनोटमा बढी चासो देखाए, जुन निर्माता सुप्रिया कटुवालले फेसबुकमा सार्वजनिक गरेको प्रमाणले बोल्छ । उनको चरित्रका लागि हरेक चिज तयार थिए । यसले अनमोल फिल्म गर्न पूर्ण तयार थिए भन्ने देखाउँछ ।
उनी दशैंभन्दा अगाडि नै ‘रावायण’को छायांकन पूरा गर्ने योजनामा थिए । तिहारपछि उनले फिल्म ‘फर्की फर्की’लाई समय दिनुपर्ने थियो । त्यहीअनुरुप अनमोल फिल्मको तयारीमा जुटेका थिए । एक्सनदेखि अभिनयसम्म सिकिरहेका थिए । जब निर्माता छायांकन थाल्न पूर्ण तयार भए तब उनले चरित्र निर्माणका लागि अनिश्चितकालिन समय मागिदिए । अन्ततः निर्माता प्रहरी गुहार्न बाध्य भए ।
(फिल्मका लागि तयार पारिएको कस्ट्युममा अनमोल केसी)
अनमोलले पहिला पनि केही फिल्महरु कागजी सम्झौता गरेर पेश्की रकम बुझिसकेपछि हात झिकेका घटनाबारे निर्देशक सुदर्शन थापा अनविज्ञ थिएनन् । उनले त झन् सम्झौता पनि गरेका थिएनन् । चेक दिएकै भरमा लगानी गर्दै फिल्मको काम अगाडि बढाउनु उनको पनि ठूलो गल्ती देखिन्छ । अनि, एक्कासी सहमतिको ढोका बन्द गरेर उजुरी दिने निर्णय पनि उनको हतारपूर्ण देखिन्छ ।
टिमसँगको छलफलको क्रममा अनमोल
यो घटना फिल्म क्षेत्रका लागि एउटा नजीर बनेको छ । सम्भवतः अब कोही मेकरले बिना सम्झौता विश्वासको भरमा कलाकारलाई पेश्की रकम दिएर फिल्मको काम अगाडि बढाउने हिम्मत गर्ने छैनन् । अनमोलप्रति झन् मेकर बढी सतर्क हुने देखिन्छ । र, यो घटनाले कलाकारहरुलाई पनि गजबको पाठ सिकाएको छ । अहिले धेरैको चासो ‘रावायण’को विवाद कसरी टंगिन्छ भन्नेमा छ ।