लोकसंगीत क्षेत्रमा गर्विलो नाम हो, नारायण रायमाझी । मौलिक गीत गाएरै पृथक छवि बनाएका उनी नेपाली फिल्मका पनि सफल निर्देशकमा गनिन्छन् । उनको पहिलो फिल्म ‘गोर्खा पल्टन’ होस् या दोस्रो फिल्म ‘परदेशी’, दुवै व्यावसायिक रुपमा सफल भएका थिए । अब उनी यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’बाट सफलतामा ह्याट्रिक गर्ने धाउन्नमा छन् ।
उनी आफ्ना गीतमा मात्र होइन, फिल्ममा पनि समाजका कथालाई उधिन्न रुचाउँछन् । ‘गोर्खा पल्टन’मा युद्ध लड्न जाने सिपाहीको कथा भनेका उनले ‘परदेशी’मा आर्थिक अभावले वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीहरुको बाध्यतालाई देखाएका थिए । ‘परदेशी २’मा उनले युवाहरुमा बढ्दो विदेश मोहको कथा प्रस्तुत गरेका छन् । फिल्मको चर्चा हेर्दा सफलताको सम्भावना बलियो देखिन्छ ।
उनी काल्पनिक कथामा फिल्म नबनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘फिल्म भनेको समाजको दर्पण बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले फिल्ममा काल्पनिक कथा समावेश नै गरेका छैनौं । दैनिक हाम्रो समाज, घर र देशमा जे-जे यथार्थ घटनाहरु घटिरहेका छन्, त्यसैलाई हामीले फिल्ममा प्रस्तुत गरेका छौं । हामीले गीति नाटकमार्फत् पनि फिल्मको कथा बुझाउने प्रयास गरिरहेका छौं ।’
एउटा युवा अध्ययनका लागि विदेशिँदा त्यसले समाज, परिवार र देशलाई पार्ने प्रभावलाई फिल्ममा देखाइएको रायमाझीको जिकिर छ । फिल्मले देशमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिने उनी बताउँछन् । उनलाई यस्तो कथामा अहिलेसम्म नेपाली फिल्म नै बनेको छैन भन्ने लाग्छ । प्राविधिक पक्ष, कलाकारको अभिनय र गीत-संगीतको हिसाबले पनि फिल्म राम्रो रहेको उनको दाबी छ ।
निर्देशक रायमाझीलाई ‘परदेशी’को साख बचाएर सफलतामा ह्याट्रिक पनि गर्नुपर्ने ठूलो दबाब छ । यसमा उनी निश्चिन्त देखिन्छन् । फिल्म व्यावसयिक रुपमा सफल हुने र पहिलेको दुई फिल्मभन्दा राम्रो रहेको उनको भनाई छ । उनी हिरो जन्माउने निर्देशक पनि हुन् । ‘गोर्खा पल्टन’बाट गायक प्रशान्त तामाङलाई हिरो बनाए । ‘परदेशी २’बाट गायक प्रकाश सपूतलाई हिरोमा भित्राएका छन् ।