हरेक कलाकारको करिअरमा उतारचढाव आउँछ । एकनाशले कसैको करिअर अगाडि बढ्दैन । विशेषतः फिल्मको असफलताले कलाकारको करिअरलाई असन्तुलित बनाउँछ । यसैले पनि प्रायःलाई सफलताको दबाब हुने गर्छ । जब लगालग फिल्म असफल भैरहन्छ तब करिअरलाई लिएर कलाकारमा चिन्ता बढ्छ । जसरी अहिले अभिनेता पुष्प खड्का करिअरलाई लिएर चिन्तित छन् ।
त्यसो त उनको करिअर सुरुवाती समयदेखि नै उतारचढावपूर्ण छ । फिल्म ‘अझै पनि’बाट उनले सहायक अभिनेताको रुपमा डेब्यू गरे । तर, भन्नका लागि मात्र डेब्यू रह्यो । न फिल्म चल्यो न उनी चिनिए । यसपछि उनले ‘दर्पण छायाँ’ जस्तो ब्रान्ड फिल्मको दोस्रो श्रृंखलामा मुख्य हिरोको रुपमा काम गर्ने अवसर पाए । यो फिल्म पनि उनका लागि संख्या थप्नुभन्दा बाहेक अरु उपलब्धि भएन ।
फिल्म ‘मंगलम’लाई भने पुष्पको करिअरको ‘टर्निङ पोइन्ट’ मानिन्छ । यसले उनलाई अभिनयको प्रशंसा र सफलता दुवै दिलायो । ‘दाल भात तरकारी’ पनि उनको हिट फिल्म हो । भलै अभिनयको आलोचना भयो । ‘मारुनी’ पनि उनका लागि सम्झनलायक बन्न सकेन । अघिल्लो वर्ष त उनले फ्लपमा ह्याट्रिक नै गरे । ‘कृष्ण लीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ तीनवटै डिजास्टर बन्न पुगे ।
लगालग फिल्मको असफलतापछि पुष्प हच्किएका छन् । अब उनी हतारमा फिल्म छानेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । यसैले उनी फिल्म छनोटमा गम्भीर देखिएका छन् । लामो समयदेखि उनले नयाँ फिल्म समेत सम्झौता गरेका छैनन् । फिल्म ‘चोर पुलिस’ पाइपलाइनमा त छ तर बन्नेमै आशंका छ । अबको फिल्म सफल हुनैपर्ने दबाबका कारण पनि उनी ‘पर्ख र हेर’को स्थितिमा छन् ।
‘मंगलम’बाट पुष्पलाई भविष्यको ‘स्टार’ अभिनेताको रुपमा विश्लेषण गरिएको थियो । युवापुस्तामा उनको क्रेज पनि राम्रो छ । तर, फिल्म छनोटमा चुक्दा उनको करिअर असन्तुलित बनेको छ । अब उनलाई जबर्जस्त कमब्याकका लागि एउटा बलियो फिल्मको खाँचो देखिएको छ, जसले व्यावसायिक सफलताको पनि ग्यारेटी गरोस् । अबको फिल्मले उनको करिअरमा नै ठूलो अर्थ राख्नेछ ।