गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो । दशैं विदाको अवसर पारेर आगामी कात्तिक ४ गते (फूलपाती)बाट फिल्म प्रदर्शनमा आउँदैछ ।
नेपालमा मात्र नभइ, विदेशमा पनि फिल्मले उच्च ओपनिङ गर्ने देखिएको छ । दर्शकको मागलाई मध्यनजर गर्दै अष्ट्रेलिया, जापान, बेल्जियम लगायतका देशहरुमा तीन हप्ता अगावैदेखि फिल्मको बुकिङ खुलिसकेको छ । र, बुकिङ आक्रामक पनि देखिएको छ । दक्षिण कोरियामा त फिल्मको पाँचवटा शोज ‘सोल्डआउट’ नै भैसकेका छन् । यसले विदेशमा फिल्मप्रति दर्शकको क्रेज बोल्छ ।
प्रदर्शनभन्दा अगावै फिल्मको शोज ‘सोल्डआउट’ हुने श्रृंखला नेपालमा पनि कायम हुने देखिन्छ । फिल्मको क्रेजलाई मध्यनजर गर्दै मल्टीप्लेक्सहरुले उच्च शोजसहित एक हप्ता अगावै बुकिङ खोल्ने सम्भावना प्रवल छ । फिल्म प्रदर्शन हुन अब १५ दिन पनि बाँकी छैन । तर, अहिलेसम्म फिल्मको ट्रेलर सार्वजनिक गरिएको छैन । ट्रेलर रिलिजपश्चात् फिल्मको हाइप थप चुलिने निश्चित प्रायः छ ।
दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, संजोग रसाइली आदिको अभिनय छ । फिल्ममा निर्माता खगेन्द्र लामिछानेको लेखन छ । २०७२ सालमा प्रदर्शन भएको ‘पशुपति प्रसाद’को चर्चित पात्र भष्मे डन (विपिन कार्की)मा फिल्मको कथा केन्द्रित रहेको जनाइएको छ ।