फिल्म सफल हुनु कलाकारका लागि ठूलो उपलब्धि मानिन्छ । किनकि, यसले करिअरलाई अगाडि बढाउन मद्दत गर्छ । दर्शकको ठूलो वर्गमा चिनाउँछ । आफूमाथि लगानी गर्ने मेकर भेटिन्छन् । यसैले हरेक कलाकार हिटको भोका हुन्छन् । तर, सबैको हकमा फिल्म चल्दैमा करिअर उठ्छ भन्ने हुन्न । फिल्म हिट भएर पनि गुमनाम भएका कयैन् छन् । त्यसमध्ये एक हुन्, क्रिस्टिना गुरुङ ।
सफल फिल्मको सिरिज ‘प्रेमगीत ३’बाट उनको उदय भयो । यो सिरिजसँग जोडिन पाउनु नै उनका लागि आफैंमा एउटा सफलता थियो । नेपालसँगै भारतमा फिल्म रिलिज भएको थियो । फिल्मको चर्चा सानोतिनो भएन । त्यसमाथि अहिलेका ‘स्टार नायक’ प्रदीप खड्कासँग जोडी बाँधिएको थियो । फिल्म घरेलू बक्स अफिसमा हिट पनि भयो । तर, फिल्म रिलिजपछि क्रिस्टिना गुमनाम छिन् ।
फिल्म हिट भएपछि कलाकारलाई फिल्म अफरको ओइरो नै लाग्छ । अक्सर देखिएको यही छ । क्रिस्टिना भने डेब्यू फिल्म रिलिज भएको एक वर्ष बढी भैसके पनि न कुनै नयाँ फिल्ममा जोडिएको न कुनै फिल्म अफर भएको जानकारी प्राप्त छ । ‘प्रेमगीत ३’बाट अभिनयको प्रशंसा हुन नसक्दा उनी छायाँमा परेको विश्लेषण भैरहेको छ । यद्यपि, उनको सुन्दरताको राम्रै तारिफ भएको थियो ।
त्यसो त ‘प्रेमगीत’ फापेको अभिनेत्रीमा पूजा शर्मालाई मात्र हो । यही फिल्मबाट उनको करिअर चम्किएको थियो । ‘प्रेमगीत २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अश्लेषा ठकुरी पनि अहिले गुमनामझैँ छिन् । उनले त फिल्म इन्डष्ट्री नै छाडेको अवस्था छ । अब क्रिस्टिनाको करिअर कस्तो रहन्छ, चासोको विषय बनेको छ । कतै ‘प्रेमगीत ३’ नै उनको पहिलो र अन्तिम फिल्म बन्ने त होइन ?