मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीले ६ वर्षपछि पाएको हिट, तर हर्ष न विस्मात

फिल्मीखबर, काठमाडौं, 2023/10/08

Samragyee R L Shah

 

पहिलो फिल्म ‘ड्रिम्स’बाटै साम्राज्ञी आरएल शाह ‘स्टार नायिका’को रुपमा उदाइन् । यो फिल्म सफल हुँदा अनमोल केसीभन्दा पनि बढी फाइदा उनलाई भएको थियो । किनभने, अभिनयमा उनी सशक्त देखाएकी थिइन् । दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल भैदिँदा उनको स्टारडम एकाएक उचाइँमा पुग्यो । कतिपयले उनलाई ‘नम्बर वान नायिका’को रुपमा समेत विश्लेषण गरेका थिए ।

तर, दोस्रो फिल्मपछि उनको स्टारडमलाई बचाउन कुनै फिल्म सक्षम भएनन् । ‘कायरा, ‘तिमीसँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’, ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ नचल्दा उनले फ्लपमा ‘डबल ह्याट्रिक’ गरिन् । ‘इन्टु मिण्टु लण्डनमा’ले जेनतेन लगानी उठाएर ‘सेमी हिट’को ‘ट्याग’ पायो । एकातिर लगातार फिल्म असफल हुनु र अर्कोतिर श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनायो ।

साम्राज्ञीलाई करिअर बचाउन ‘ए मेरो हजुर २’ जस्तै एउटा हिट फिल्मको खाँचो थियो । उनको त्यो इच्छा भदौमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले पूरा गरेको छ । तर, ६ वर्षपछि हिट पाउँदा पनि उनलाई ‘हर्ष न विस्मात’ भनेझैँ छ । किनकि, फिल्म सफल हुनुको ‘श्रेय’ दयाहाङ राई र मिरुना मगरले पाएका छन् । साम्राज्ञीले हिट फिल्मको सदस्यको रुपमा मात्र चित्त बुझाउनु परेको छ ।
 
यद्यपि, ‘नाङ्गो गाउँ’को सफलता उनका लागि ‘नहुनु भन्दा कानो मामा नै बेस’ भनेझैं देखिन्छ । किनकि, श्रृंखलाबद्ध फ्लपले उनको करिअर संकटमा थियो । कमसेकम यो फिल्मले राहत दिएको छ । अभिनयको पनि प्रशंसा नभएको होइन । मात्र उनी दयाहाङ र मिरुनाका कारण छायाँमा परेकी हुन् । फिल्म हिटको ‘क्रेडिट’ नपाउनुको पीडा अहिले उनलाई जति अरु कसलाई थाहा होला र ?