निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा अभिनेता अनमोल केसी असोज १२ गते पक्राउ परेका थिए । अब अर्को घटनामा सुदर्शनविरुद्ध आपराधिक विश्वासघातकै उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरिरहेको छ । ‘प्रसाद २’को विवादमा उनीविरुद्ध उजुरी परेको हो ।
फिल्मका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरी बिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्देशक थापासहित ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल र सम्पादक मिलन श्रेष्ठविरुद्ध उजुरी दिएका थिए । ओम शुक्रबार दिउँसो पक्राउ परे । सुदर्शन र मिलनलाई भने प्रहरीले तीव्र रुपमा खोजिरहेको छ ।
सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनकी श्रीमती कटुवालले फेसबुकमा स्टाटस लेख्दै राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी भएको भन्दै आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्, ‘यो देशमा पहुँच छ भने जे गरे पनि चल्दो रहेछ । प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि डाइरेक्ट सरकारी वकिलबाट गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ? सक्छौ भने मुख्य नाइकेलाई अगाडि ल्याउ म साथ दिन्छु । राजनीतिक शक्तिको चरम दुरुपयोग ।’
‘प्रसाद २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ परेपछि फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् इमानदार व्यक्तिलाई फसाउन खोजिएको भन्दै रिहाईको माग गरेका छन् । अग्रवालले निर्माता सुभाष थापाबाट ३२ लाख ५० हजारमा फिल्मको युट्युब राइट्स खरिद गरेका थिए । उनले उक्त रकम भुक्तानी समेत गरिसकेका छन् । तर, युट्युबमा फिल्म रिलिज गर्ने बेला उनैविरुद्ध उजुरी पर्यो । र, पक्राउ परे ।
अग्रवाल पक्राउ पर्नुमा निर्माताबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ । उनको निर्माता थापासँग डिजिटल राइट्सको विषयमा करार सम्झौता भएको थियो । पछि फिल्ममा केशव पाण्डे हुँदै सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ निर्माताको रुपमा भित्रिए । यसपछि निर्माताबीच नै आर्थिक लेनदेनको विषयमा द्वन्द्व सुरु भयो । फिल्म रिलिजको मुखमा पाण्डेले निर्माता थापाविरुद्ध बैंकिङ कसूर र ठगीको मुद्धामा प्रहरीमा उजुरी दिए । र, अदालतबाट पक्राउ पुर्जी जारी भयो । यसपछि उनी फरार छन् ।
तेस्रो चरणमा निर्माताको रुपमा भित्रिएका सुदर्शन र ज्याकलाई सुभाष थापाले फिल्मको सम्पूर्ण स्वामित्व दिएपछि उनीहरुले डिजिटल राइट्सको हक खोज्दै अग्रवालविरुद्ध उजुरी दिएका हुन् । जबकि, निर्माता थापा र अग्रवालबीच डिजिटल राइट्सको विषयमा सम्झौता हुँदा निर्मातामा बस्नेत र श्रेष्ठ भित्रिएकै थिएनन् । यसैले अग्रवालमाथि अन्याय भएको आवाज उठिरहेको छ ।