फिल्म ‘प्रसाद २’को विवादमा शुक्रबार दिउँसो पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । अब उनी प्रहरीले बोलाएको बेला उपस्थित हुनुपर्नेछ ।
फिल्मका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा उनी पक्राउ परेका थिए । आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई प्रहरीले रिहा गरेको हो ।
अग्रवालको ओएसआर डिजिटलले निर्माता सुवास थापाबाट ‘प्रसाद २’को युट्युब राइट्स खरिद गरेको थियो । अहिले निर्माता थापा बैंकिङ कसूर र ठगीको मुद्धामा फरार छन् । उनले फरार हुनुभन्दा अगाडि सुदर्शन र ज्याकलाई फिल्मको सम्पूर्ण स्वामित्व दिएका थिए । आफ्नो स्वामित्वमा रहेको फिल्ममा मनोमानी गरेको भन्दै उनीहरुले अग्रवालविरुद्ध उजुरी दिएका हुन् । उनी पक्राउ परेपछि दीपकराज गिरीदेखि मिलन चाम्ससम्मले इमानदार व्यक्तिलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका थिए ।
सुदर्शन र ज्याकले निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका छन् । आफूहरूको मन्जुरी बिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप उनीहरुको छ । सुदर्शन र मिलनविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । अहिले उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।