मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’को कथा कहिल्यै पुरानो हुँदैन : निर्देशक रायमाझी

फिल्मीखबर, काठमाडौं, 2023/10/09

narayan rayamajhi

 

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ कोरोना महामारीभन्दा अगाडि नै निर्माण भएको थियो । कथा लेखन त्योभन्दा झण्डै एक वर्ष अगाडि । तर, कोभिडको समयमा विभिन्न माध्यमबाट विश्वभरका फिल्म तथा सिरिज हेरेर दर्शकको स्वाद निकै फेरिएको छ । यो अवस्थामा ‘परदेशी २’ले दर्शकको भावना र रुचिलाई कति सम्बोधन गर्न सक्छ भन्ने चासो धेरैमा छ ।

निर्देशक नारायण रायमाझी भने फिल्ममा कहिल्यै पुरानो नहुने वैदेशिक रोजगारीको कथा रहेकाले दर्शकहरुको भावनालाई जोड्न सक्नेमा विश्वस्त छन् । आफूले संगीत क्षेत्रमा करिअर सुरु गर्दादेखि परदेशीको कथा नफेरिएको उनको बुझाई छ । मात्र समयसँगै त्यसको रुप फेरिँदै गएको उनले अनुभव गरेका छन् । यसैले फिल्म हेर्दा दर्शकले अपनत्व महसुस गर्नेमा उनी विश्वस्त देखिन्छन् ।

उनी भन्छन्, ‘परदेशीको कथा कहिल्यै पुरानो नहुने रैछ । मैले संगीत क्षेत्रमा करिअर सुरु गर्दा पनि परदेशीका कथाहरु त्यस्तै थिए । अहिले पनि त्यस्तै छ । मात्र त्यसको रुप फेरिएको छ । कुनै बेला नेपालीहरु इन्डिया र बेलायतमा फौजीमा जान्थे । उनीहरुलाई लाहुरे भन्ने गरिन्थ्यो । त्यसपछि खाडी मुलुकमा रोजगारीका लागि जानेहरु बढे । अहिले उच्च शिक्षाका लागि जानेहरुको लर्को छ ।’

जुनबेला ‘परदेशी २’को कथा लेख्न थालिएको थियो, त्यो अहिले झन् सान्दर्भिक हुँदै गइरहेको उनलाई लाग्छ । यसैले फिल्मको कथा पुरानो नभएको र कहिल्यै पुरानो नहुने निर्देशक रायमाझीको दाबी छ । उनी ‘गोर्खा पल्टन’ र ‘परदेशी’पछि आफूप्रति दर्शकहरुको ठूलो अपेक्षा रहेको र यसपटक पनि निराश नबनाउने बताउँछन् । ‘परदेशी २’बाट उनलाई हिटमा ह्याट्रिक गर्ने अवसर समेत छ ।