यस वर्ष सुपरस्टार शाहरुख खानको दुई फिल्म ‘पठान’ र ‘जवान’ले भारतीय बक्स अफिसमा ठूलो रेकर्ड बनायो । यी दुई फिल्मले बलिउडसँगै उनको करिअरलाई पनि पुर्नजीवन दिएको छ । तर, यही दुईवटा फिल्मको सफलताबाट असन्तुष्ट बनेका व्यक्तिहरुले शाहरुखलाई ‘पठान’को बेलादेखि लगातार ज्यान मार्ने धम्की दिइरहेका छन् । अब महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ ।
शाहरुखलाई सरकारले ‘वाइ प्लस’ श्रेणीको सुरक्षा प्रदान गरेको छ । यसअघि दुईजना पुलिस उनको सुरक्षामा खटिरहेका थिए । र, उनको आफ्नै व्यक्तिगत बडीगार्डले पनि सुरक्षा दिँदै आइरहेका थिए । ज्यान मार्ने धम्कीपछि अब उनी ६ जना कमाण्डोको सुरक्षा घेराभित्र हुनेछन् । र, उनको घरमा ४ जना पुलिसले २४औं घन्टा सुरक्षा दिने व्यवस्था महाराष्ट्र सरकारले मिलाएको जनाइएको छ ।
शाहरुख जब यात्रामा निस्कनेछन् तब सुरक्षामा कमाण्डोका साथै ‘ट्राफिक भेहिकल’ पनि रहनेछ, जसले ट्राफिक जाम हटाउनेछ । सुरक्षाको खर्च भने उनी आफैंले बेहोर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरक्षाको जोखिम कम भएपछि महाराष्ट्र सरकारले कमाण्डो र प्रहरी फिर्ता बोलाउनेछ । धम्कीकै कारण अहिले सुपरस्टार सलमान खान पनि ‘वाइ प्लस’ श्रेणीको सुरक्षा घेरामा छन् ।